कामधेनुले किसानका समस्या नीतिमा समेट्दै, सदस्य विस्तारसँगै व्यावसायिकतातर्फ जोड
एलएन गच्छदार / सुन्दरहरैंचा । कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, इटहरी–२, सुनसरीले सदस्य विस्तारसँगै किसानका समस्या, गुनासा र सुझाव संकलन गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा समेट्ने अभियान अघि बढाएको छ।
कोशी प्रदेशकै पुराना तथा ठूलो कारोबार गर्ने दुग्ध उत्पादक सहकारीमध्ये रहेको कामधेनुले आफ्नो कार्यक्षेत्रमा रहेका सदस्य सहकारी तथा किसानसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै दुग्ध उत्पादन, बजार, नश्ल सुधार, पशु आहार र किसानको लागतलगायतका विषयमा सुझाव संकलन गरिरहेको हो।
सहकारीका अध्यक्ष यादव ढकालसहितको टोलीले विभिन्न जिल्लामा रहेका सदस्य तथा किसानसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या र आवश्यकताबारे जानकारी लिइरहेको छ। यसैक्रममा बिहीबार पथरीशनिश्चरे नगरपालिका–३ मा रहेको बिहानी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र वडा नं. ६, मंगलबारे स्थित श्री रामजानकी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अन्तरक्रियाका क्रममा किसानहरूले दुग्ध उत्पादन तथा बिक्रीमा देखिएका समस्या, गाईको नश्ल सुधार, दूधको गुणस्तर, दाना–चोकरको उपलब्धता तथा बढ्दो उत्पादन लागतलगायतका विषय उठाएका थिए। कामधेनुले किसानबाट आएका समस्या तथा सुझाव टिपोट गरी आगामी नीति तथा कार्यक्रममा समेट्ने जनाएको छ।
बिहानी दुग्ध उत्पादक सहकारीका अध्यक्ष घनश्याम भट्टराईले किसानका समस्या, दूध उत्पादनको अवस्था तथा सहकारी र किसानबीचको सहकार्यका विषयमा धारणा राखेका थिए।
अध्यक्ष ढकालले कामधेनुले किसानका समस्यालाई प्राथमिकतामा राख्दै आगामी दिनमा आफ्ना कार्यक्रमलाई थप किसानमुखी बनाउने बताए। किसानको उत्पादन वृद्धि, दूधको गुणस्तर सुधार, उन्नत नश्ल विस्तार तथा उत्पादन लागत घटाउने विषयलाई प्राथमिकतामा राखिने उनको भनाइ छ।
उन्नत गाईको स्रोत केन्द्र स्थापना गर्ने योजना
किसानलाई उन्नत जातका गाई सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले कामधेनुले उन्नत गाईको स्रोत केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ।
स्रोत केन्द्र सञ्चालनका लागि तीनवटा समिति निर्माण गरी किसानलाई आवश्यक सहजीकरण गर्ने योजना रहेको अध्यक्ष ढकालले बताए। स्रोत केन्द्रबाट गाई खरिद गर्ने किसानलाई सहुलियत उपलब्ध गराउनुका साथै सहुलियतपूर्ण ऋणको व्यवस्थासमेत गर्ने तयारी गरिएको छ।
स्रोत केन्द्रबाट गाई खरिद गर्नुअघि गाईको दूध उत्पादन क्षमता, जात, स्वास्थ्य अवस्था तथा अन्य आवश्यक पक्षको परीक्षण गरिनेछ। किसानले गाईको करिब तीन दिनको दूध उत्पादन हेर्न, उन्नत जात पहिचान गर्न तथा तीन दिनसम्म रेखदेख र परीक्षण गरेपछि मात्रै खरिद गर्न पाउने व्यवस्था मिलाइने ढकालले बताए।
यसबाट किसानले वास्तविक उत्पादन क्षमता भएको गाई छनोट गर्न सक्नुका साथै दीर्घकालीन रूपमा नश्ल सुधारमा समेत सहयोग पुग्ने सहकारीको अपेक्षा छ।
साइलेजदेखि आफ्नै दाना उत्पादनसम्म
किसान बचाउ अभियानलाई प्राथमिकतामा राखेको कामधेनुले साइलेज उत्पादन तथा भण्डारणमा समेत लगानी गर्ने योजना बनाएको छ। सदस्य सहकारीमार्फत साइलेज तथा स्रोत केन्द्रमा लगानी विस्तार गर्ने तयारी रहेको अध्यक्ष ढकालले बताए।
त्यस्तै, किसानलाई गुणस्तरीय दाना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कामधेनुले आफ्नै दाना उत्पादन गर्ने योजना अघि सारेको छ।
कामधेनुले सदस्य किसानलाई पशु प्राविधिक सेवा, औषधि, बिमा सुबिधा, दाना तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जनाएको छ। गुणस्तरीय दूध उत्पादनका लागि बुस्टर दाना तथा पशु आहार व्यवस्थापनसम्बन्धी परामर्शसमेत दिइँदै आएको छ।
४३ सदस्य संस्थाबाट दैनिक २५ हजार लिटर दूध
कामधेनुले हाल ४३ वटा सदस्य संस्थासँग दूध खरिद गर्दै आएको जनाएको छ। ती सदस्य संस्थामार्फत संकलन हुने दूधमध्ये दैनिक करिब २५ हजार लिटर दूधको कारोबार तथा खपत हुने गरेको सहकारीले जनाएको छ।
सहकारीमा सदस्य बन्नका लागि दुग्ध कारोबारसँग जोडिएको हुनुपर्ने व्यवस्था रहेको छ। दुग्ध बिक्री गर्ने वा दैनिक कम्तीमा ६० रुपैयाँ बराबरको दूध उपयोग गर्ने व्यक्तिसमेत सदस्य बन्न सक्ने व्यवस्था रहेको सहकारीले जनाएको छ।
सदस्य किसानलाई केवल दूध उत्पादनमा सीमित नराखी व्यावसायिक पशुपालन र दुग्ध उत्पादनतर्फ प्रेरित गर्ने नीति कामधेनुले अघि सारेको छ। किसानको उत्पादन लागत घटाउने, उत्पादन बढाउने र बजार सुनिश्चित गर्ने विषयमा सहकारीले थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
४ सय सेयरबाट १ हजार ८ सयभन्दा बढी सदस्य
अध्यक्ष यादव ढकाल नेतृत्वमा आएपछि कामधेनुले सदस्य विस्तारलाई तीव्रता दिएको छ। ढकाल नेतृत्वमा आउँदा करिब ४ सय सेयर सदस्य रहेको सहकारीमा अहिले १ हजार ८ सयभन्दा बढी सदस्य पुगेको जनाइएको छ।
सदस्य विस्तारसँगै किसानसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने र उनीहरूका समस्या समाधानमा सहकारीको भूमिका प्रभावकारी बनाउने नीति लिइएको अध्यक्ष ढकालले बताए।
छुर्पीदेखि घ्यू, पनिर र आइसक्रिमसम्म
कामधेनुले दूध संकलनसँगै डेरी उद्योग सञ्चालन गर्दै विभिन्न दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको छ। सहकारीले छुर्पी उत्पादन गरी विदेश निर्यात गर्नुका साथै मिठाई, घ्यू, पनिर, बटर, आइसक्रिमलगायतका सामग्री उत्पादन गर्दै आएको जनाएको छ।
किसानबाट संकलित दूधलाई प्रशोधन तथा विविधीकरण गरी बजार विस्तारमा जोड दिइएको अध्यक्ष ढकालले बताए। उत्पादनको बजार सुनिश्चित गर्दै किसानलाई दुग्ध व्यवसायमा टिकाइराख्ने सहकारीको उद्देश्य रहेको उनको भनाइ छ।
अन्तरक्रिया कार्यक्रममा कामधेनुका प्रशासन प्रमुख भावना रेग्मी, बचत तथा ऋण विभागकी रेवती ओझा, सञ्चालक सदस्य बिनोद गुरागाईं, श्री रामजानकी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष दिलबहादुर खड्का, लेखा संयोजक टंकबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो।
कामधेनुले आगामी दिनमा पनि आफ्नो कार्यक्षेत्रका सदस्य सहकारी तथा किसानसँग अन्तरक्रियालाई निरन्तरता दिँदै संकलित सुझावका आधारमा किसानमुखी नीति तथा कार्यक्रम निर्माण गर्ने जनाएको छ।
