प्रतिनिधि व्यवस्थापनमै अल्झियो रास्वपाको महाधिवेशन, बन्दसत्र एक दिनपछि सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबारका लागि निर्धारित बन्दसत्र प्रतिनिधि व्यवस्थापनमा देखिएको जटिलताका कारण मङ्गलबारसम्मका लागि स्थगित गरिएको छ। प्रतिनिधिको विवरण प्रमाणीकरण, नामावली रुजु तथा परिचयपत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि पार्टीले बन्दसत्र सार्ने निर्णय गरेको हो।

भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनीष झाले महाधिवेशनको वैधानिकता र विश्वसनीयतासँग प्रतिनिधि व्यवस्थापन प्रत्यक्ष रूपमा जोडिएको भन्दै कुनै कमजोरी हुन नदिन विशेष सावधानी अपनाइएको बताए।

उनका अनुसार देशभरबाट आएका प्रतिनिधिहरूको विवरण यकिन गर्ने, सदस्यता अभिलेख प्रमाणीकरण गर्ने तथा परिचयपत्र वितरणलाई व्यवस्थित बनाउन अपेक्षाभन्दा बढी समय लागेको छ। विशेषगरी मधेश प्रदेशबाट सहभागी हुने प्रतिनिधिको सङ्ख्याबारे स्पष्ट विवरण प्राप्त नभएकाले प्रक्रिया लम्बिएको उनले बताए।

“महाधिवेशन पार्टीको सर्वोच्च निर्णय गर्ने थलो भएकाले प्रतिनिधिको सही अभिलेख सुनिश्चित गर्नु आवश्यक छ,” प्रवक्ता झाले भने, “प्रतिनिधिको संख्या र वैधानिकता टुंगो नलागेसम्म बन्दसत्र सुरु गर्नु उपयुक्त हुँदैन।”

उनले महाधिवेशनमा सहभागी हुन नपाउने प्रतिनिधिहरू पाँच वर्षसम्म अवसरबाट वञ्चित हुन सक्ने भएकाले हतारमा प्रक्रिया अघि नबढाइएको स्पष्ट पारे। बन्दसत्र स्थगित भएसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका पनि एक दिन लम्बिएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै प्रतिनिधि परिचयपत्र वितरणलाई अहिलेको मुख्य प्राथमिकता बनाइएको बताए। उनका अनुसार तयार भइसकेका परिचयपत्र सोमबार साँझदेखि वितरण सुरु गरिएको छ भने बाँकी परिचयपत्र मङ्गलबार बिहानसम्म वितरण गरिनेछ।

“प्रतिनिधि व्यवस्थापन सम्पन्न हुनेबित्तिकै बन्दसत्र सुरु हुनेछ र त्यसपछि विधानअनुसार नेतृत्व चयनसहितका प्रक्रिया अगाडि बढाइनेछन्,” केसीले बताए।

पार्टीले मङ्गलबार दिउँसो १२ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी गरेको जनाएको छ। बन्दसत्रमा विभिन्न राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल हुनुका साथै नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अगाडि बढ्नेछ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संस्थागत विकास, संगठन विस्तार तथा भावी राजनीतिक दिशानिर्देशन तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास जारी रहे पनि आवश्यक परे निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने पार्टीले जनाएको छ।

यसैबीच बन्दसत्र स्थगित हुँदा प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूलाई परेको असुविधाप्रति पार्टीले क्षमायाचना गरेको छ। प्रतिनिधि व्यवस्थापन उपसमिति र केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनामा आवश्यक प्रक्रिया पूरा गर्न थप समय लागेकाले कार्यक्रम सार्नुपरेको उल्लेख गर्दै सबैलाई धैर्य र सहयोगका लागि धन्यवाद दिइएको छ।

अब मङ्गलबारदेखि सुरु हुने बन्दसत्रले रास्वपाको आगामी नेतृत्व, राजनीतिक कार्यदिशा र संगठनात्मक भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *