लागुऔषध विरुद्ध दिवसमा आश्रय सुधार तथा उपचार केन्द्रद्वारा विविध सामाजिक कार्यक्रम सम्पन्न
सुन्दरहरैँचा, मोरङ, असार १२।
अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा आश्रय सुधार तथा उपचार केन्द्र, सुन्दरहरैँचा–३, गछियाले विभिन्न सचेतनामूलक तथा सामाजिक कार्यक्रम सम्पन्न गरेको छ।
केन्द्रका कार्यक्रम निर्देशक सेवक खत्रीको नेतृत्वमा इलाका प्रहरी चौकी गछिया र ट्राफिक प्रहरी चौकीको सहकार्यमा गछिया बजार क्षेत्र तथा सार्वजनिक सवारी साधनहरूमा लागुऔषध दुर्व्यसन विरुद्धका सचेतनामूलक पर्चा, पम्प्लेट तथा स्टिकर वितरण गरिएको थियो। कार्यक्रममार्फत सर्वसाधारणलाई लागुऔषधको दुष्प्रभावबारे जानकारी दिँदै दुर्व्यसनमुक्त समाज निर्माणमा सबैको भूमिका महत्वपूर्ण रहेको सन्देश प्रवाह गरिएको थियो।
दिवसको अवसरमा गछिया बजारको मुख्य चोकमा राष्ट्रिय झण्डा फहराई देशप्रेम तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने कार्यक्रमसमेत आयोजना गरिएको थियो। त्यसैगरी केन्द्रले क्यान्सर पीडित एक व्यक्तिलाई आर्थिक तथा मानवीय सहयोग प्रदान गर्दै सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ।
यसै क्रममा सुन्दरहरैंचा -८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा विद्यार्थी लक्षित लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषध सेवनका कारण उत्पन्न हुने शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक असरबारे जानकारी गराइएको थियो।
कार्यक्रम निर्देशक सेवक खत्रीले लागुऔषध दुर्व्यसन आजको समाजको गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि परिवार, विद्यालय, समुदाय तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले उपचार, पुनःस्थापना र सचेतनामूलक गतिविधिमार्फत दुर्व्यसनमुक्त समाज निर्माणमा आश्रय सुधार तथा उपचार केन्द्र निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
आश्रय सुधार तथा उपचार केन्द्रले विगतदेखि नै लागुऔषध नियन्त्रण, उपचार तथा पुनःस्थापनाका साथै विभिन्न मानवीय र सामाजिक सेवामूलक कार्यहरू सञ्चालन गर्दै आएको छ।
