लेनदेनबारे विराट व्यापार संघ विराटनगरले सहजीकरणको भूमिका निर्वाह गरिदिने
व्यवसायी–व्यवसायी बिच हुने गरेको लेनदेनबारे विराट व्यापार संघ विराटनगरले सहजीकरणको भूमिका निर्वाह गरिदिने निर्णय गरेको छ । विराट व्यापार संघ विराटनगरका अध्यक्ष अंशु बन्जाराको अध्यक्षतामा बुधवार बसेको कार्यसमितिको बैठकले लेनदेनको मुद्दा बारे विपक्षलाई एउटै थलोमा राखेर सहजीकरण गरिदिने निर्णय गरेको हो ।
विराट व्यापार संघ विराटनगरका अध्यक्ष अंशु बन्जाराले व्यवसायी–व्यवसायी बिचको लेनदेनको मुद्दाबारे बढी रहेको द्वन्दलाई भाइचाराको माध्यमबाट समाधान गरिदिने उद्देश्यका साथ सहजीकरणको भूमिका निर्वाह गरिदिन लागेको बताए ।
२०८१ वैशाखमा विराट व्यापार संघमा निर्वाचित नयाँ नेतृत्वले व्यवसायीको समस्या समाधान गर्न विभिन्न चरणमा विराटनगर बजारको अनुगमन गरेर ७ वटा समस्या पत्ता लगाएका थिए । जुन समस्यालाई अप्रेसन ७ नाम दिएको थियो । असोज १२ गते जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत सरकारलाई संघले ध्यानाकर्षण गराएका थिए ।
जसमा व्यवसायी–व्यवसायी बिचको लेनदेन प्रमुख समस्याको रूपमा चित्रण गरेका थिए । पछिल्लो समय चरम आर्थिक मन्दिको सामना गरिरहेका निजी क्षेत्र बिक्री भएको सामानको रकम नआउँदा तनावमा रहेका छन् ।
एक त उत्पादन भएको सामानको बिक्री नहुने, अर्को तर्फ बिक्री भएको सामानको रकम फिर्ता नआउने, आएको चेक बैंकमा पर्याप्त रकम नहुँदा साट्न नसक्ने तथा ती चेक बाउन्स गराएर एक व्यवसायीले अर्को व्यवसायी माथि प्रहरीमा लेनदेनको मुद्दा चलाउँदा व्यवसायी–व्यवसायी बिच सम्बन्ध बिग्रिँदै गइरहेको बेला विराट व्यापार संघ विराटनगरले यस्तो विषम परिस्थितिमा लेनदेनबारे सहजीकरण गरिदिने नीति अविलम्बन गरेको छ ।





