देशभर गर्मीको प्रकोप बढ्दो, तराईमा ‘लु’ को जोखिम उच्च

देशभर तापक्रम निरन्तर बढ्दै जाँदा जनजीवन प्रभावित बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग ले तराई क्षेत्रमा तातो लहरको जोखिम बढेको चेतावनी दिएको छ भने लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको जनाएको छ । विज्ञहरूले जलवायु परिवर्तन, वन विनाश र अनियन्त्रित शहरीकरणलाई बढ्दो गर्मीको मुख्य कारण बताएका छन् ।

देशका विभिन्न स्थानमा वर्षा भइरहे पनि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको छ । विशेषगरी तराई क्षेत्रमा तातो हावाको लहर बढ्दै गएको छ भने पहाडी जिल्लाहरूमा पनि तापक्रम क्रमशः वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ ।

पछिल्ला वर्षहरूमा नेपालमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै गएको अनुभव सर्वसाधारणले गरिरहेका छन् । तराईदेखि पहाडसम्म लामो खडेरी, अनियमित वर्षा र तातो हावाले दैनिक जीवन कष्टकर बन्न थालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण की प्रवक्ता शान्ति महत का अनुसार इन्धनको अत्यधिक प्रयोग, वन विनाश, अनियन्त्रित शहरीकरण तथा हरितगृह ग्यास उत्सर्जन तापक्रम वृद्धिका प्रमुख कारण हुन् ।

उनले बढ्दो तापक्रम केवल मौसम परिवर्तनको विषय मात्र नभई मानव स्वास्थ्य, खाद्य सुरक्षा र अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको बताइन् । मौसमविद् विभूति पोखरेल का अनुसार हाल नेपालमा पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा पूर्वी क्षेत्र नजिक अवस्थित छ । उनका अनुसार अब देशको मध्य भागमा वर्षा कम हुँदै जाने र गर्मी अझ बढ्ने सम्भावना रहेको छ ।

विशेषगरी सुदूरपश्चिम प्रदेशलुम्बिनी प्रदेश का पहाडी तथा तराई भू–भागमा ‘तातो दिन’ को अवस्था सिर्जना भइसकेको उनले बताइन् । यस वर्ष देशका धेरै स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको पनि उनको भनाइ छ । जल तथा मौसम विज्ञान विभाग ले तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जिव अधिकारी का अनुसार आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अधिकतम तापक्रम अझ बढ्ने सम्भावना छ ।

उनका अनुसार केही स्थानमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ । विशेषगरी कञ्चनपुर, कैलाली, बर्दिया, बाँकेदाङ उच्च जोखिममा रहेका जिल्ला हुन् ।

यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही तथा कपिलवस्तु मा थप सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का सूचना अधिकारी डा. भक्तबहादुर केसी ले गर्मीबाट बच्न पर्याप्त पानी पिउन, चर्को घाममा लामो समय नबस्न, हल्का तथा सुती कपडा लगाउन र झोलिलो खानेकुरा सेवन गर्न सुझाव दिएका छन् ।

उनका अनुसार अत्यधिक गर्मीका कारण शरीरमा पानीको कमी हुने, टाउको दुख्ने, थकान बढ्ने, रक्तचाप असन्तुलन हुने तथा लु लाग्ने जोखिम रहन्छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा बाहिरी क्षेत्रमा श्रम गर्ने व्यक्तिहरू बढी जोखिममा रहने उनले बताए । स्वास्थ्यकर्मीहरूका अनुसार तातो हावा र तातो लहरका कारण चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, अत्यधिक तिर्खा लाग्ने तथा बान्ता हुने समस्या देखिन सक्छ । यस्तो अवस्था देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *