पाँचथरमा बाढी–पहिरोको कहर : घर बगे, पुल भत्किए, दर्जनौँ परिवार जोखिममा
पाँचथर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथर मा ठूलो जनधनको क्षति पुर्याएको छ । याङवरक गाउँपालिका मा पहिरोले घर बगाउँदा चार परिवार विस्थापित भएका छन् भने दर्जनौँ घर उच्च जोखिममा परेका छन् । बाढीले सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी तथा सिँचाइ संरचनामा समेत व्यापक क्षति पुर्याएको छ ।
अविरल वर्षासँगै खसेको पहिरोका कारण याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर बगाएपछि लम्बाखोलाका मोहनलाल खवास, कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको स्थानीय प्रशासनले जनाएको छ ।
मोहनलाल र कबिर खवासका सात जना आफन्तको घरमा आश्रय लिएर बसेका छन् भने गङ्गाप्रसाद बेघाको ६ सदस्यीय परिवार दाजुको घरमा बसिरहेको छ । सोही क्षेत्रका भगीमान बेघाको घर पनि पहिरोको उच्च जोखिममा परेपछि उनका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाढीपहिरोका कारण कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल तथा खोलाघारी मगरडाँडाका दर्जनौँ घर जोखिममा परेका छन् । स्थानीयवासी त्रासपूर्ण अवस्थामा रात बिताउन बाध्य भएका छन् ।बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्याएको छ भने याङवरक गाउँपालिका–२ दोभानेस्थित अर्को झोलुङ्गे पुल पनि क्षतिग्रस्त भएको छ ।
यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत दोभाने क्षेत्रमा मेवा खोलामाथि निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको छ । पुलसँगै डाइभर्सन र सडक संरचना बगेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यसैगरी तमोर कोरिडोर सडक अन्तर्गत हिलिहाङ गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका को सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचना पनि बाढीले बगाएको छ ।याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन, फलामे पाइपलगायत निर्माण सामग्री बाढीले बगाएको जनाइएको छ ।
पहिरोका कारण मध्यपहाडी राजमार्गअन्तर्गत ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ । बाढी र पहिरोले मेवाखोला क्षेत्रमा रहेको हरिहृदय मेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । यस्तै पाँचथर–ताप्लेजुङ सीमास्थित इवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रका पर्खालमा पनि क्षति पुगेको छ । काबेली खोला क्षेत्रमा रहेको अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुगेको जनाइएको छ ।याङवरक गाउँपालिका–४ सिगेवामा स्थानीयवासीको अलैँची बगान र खेतीयोग्य जमिनमा बाढी पस्दा कृषिमा ठूलो क्षति पुगेको छ ।
यसैबीच, बाढीपहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुर्याएको छ । स्थानीय तहले क्षतिको विवरण संकलन तथा प्रभावित परिवारको उद्धार र राहत व्यवस्थापन कार्य अघि बढाएको जनाएको छ ।
