फ्रान्स नकआउट चरणमा, एम्बाप्पेको दुई गोलमा इराक ३–० ले पराजित
फिफा विश्वकप–२०२६ अन्तर्गत फ्रान्स ले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको फिलाडेल्फियामा सम्पन्न खेलमा फ्रान्सले इराक लाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा पुग्ने यात्रा तय गरेको हो।
फ्रान्सको जितमा किलियन एम्बाप्पे नायक बने। उनले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। यस्तै उस्मान डेम्बेले ले एक गोल थपे।
वर्षाका कारण करिब एक घण्टा खेल रोकिए पनि फ्रान्सको लय प्रभावित भएन। खेलको १४औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले फ्रान्सको पकड बलियो बनाए। इराकले खेलमा फर्किने प्रयास गरे पनि ६६औँ मिनेटमा डेम्बेलेले गोल गरेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो।
यसअघि समूह चरणको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको थियो भने इराक नर्वेसँग ४–१ ले पराजित भएको थियो। लगातार दुई जितसँगै फ्रान्स एक खेल बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेको छ भने इराकमाथि दबाब बढेको छ।





