महिलाको स्वास्थ्य सुरक्षामा सामूहिक पहल : सुन्दरहरैँचामा निःशुल्क क्यान्सर परीक्षण अभियान सुरु
एलएन गच्छदार
सुन्दरहरैँचा, असार ८
महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) र स्तन क्यान्सर (Breast Cancer) नेपालमा बढ्दो गम्भीर स्वास्थ्य समस्याका रूपमा देखिन थालेका छन्। समयमै परीक्षण तथा उपचार नहुँदा धेरै महिलाले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले प्रारम्भिक जाँच र सचेतनालाई प्राथमिकता दिनुपर्ने आवश्यकता स्वास्थ्य विज्ञहरूले औँल्याउँदै आएका छन्। यही आवश्यकतालाई मध्यनजर गर्दै सुन्दरहरैँचा नगरपालिकामा तीनदिने निःशुल्क क्यान्सर परीक्षण अभियान सुरु गरिएको छ।
“सेभ मदरहुड क्याम्पेन” अन्तर्गत कल्पा इम्पावर वुमन नेपालको पहल, नेपाल बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमको सहयोग तथा सुन्दरहरैँचा नगरपालिकाको समन्वयमा सञ्चालन भएको उक्त अभियान आइतबारदेखि सुरु गरिएको हो।
सुन्दरहरैँचा–२ स्थित आधारभूत स्वास्थ्य केन्द्र मृगौलियामा आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री लिम्बूले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउनुभयो। उहाँले भन्नुभयो,
“पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर जस्ता रोगहरू समयमै पहिचान गर्न सकिएमा उपचार सम्भव हुन्छ। यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूले ग्रामीण तथा विपन्न समुदायका महिलालाई ठूलो राहत प्रदान गर्नेछ। सबै महिलाहरूले नियमित स्वास्थ्य जाँच गराउने बानी बसाल्नु आजको आवश्यकता हो।”
कार्यक्रमका सभाध्यक्ष तथा सुन्दरहरैँचा–२ का वडा अध्यक्ष विवस प्रधानले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको यो अभियान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“हामीले गाउँ–टोलसम्म स्वास्थ्य सेवा पुर्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ। धेरै महिलामा अझै पनि क्यान्सरबारे पर्याप्त सचेतना छैन, त्यसैले यस्ता अभियान आवश्यक छन्।”
त्यसैगरी समाजसेवी तथा युवा व्यवसायी देवराज तामाङले महिलाको स्वास्थ्य सुरक्षालाई परिवार र समाजको समृद्धिसँग जोडेर हेर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार,
“महिला स्वस्थ भए परिवार स्वस्थ हुन्छ। यस्तो निःशुल्क परीक्षण कार्यक्रमले विपन्न तथा ग्रामीण महिलालाई ठूलो राहत दिएको छ र यसले दीर्घकालीन रूपमा समाजमा सकारात्मक प्रभाव पार्नेछ।”
कार्यक्रम अन्तर्गत असार ८ र ९ गते आधारभूत स्वास्थ्य केन्द्र मृगौलिया तथा असार १० गते आधारभूत स्वास्थ्य केन्द्र इन्द्रपुर, सुन्दरहरैँचा–१२ मा निःशुल्क परीक्षण सेवा सञ्चालन गरिनेछ। विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोलीले पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षण गरिरहेको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार प्रारम्भिक चरणमै रोग पहिचान भए उपचार सम्भावना उच्च हुने भएकाले नियमित स्वास्थ्य जाँच अत्यन्त आवश्यक छ।
महिलाको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने, समयमै रोग पहिचान गर्ने तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यो अभियानले स्थानीय महिलाहरूलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ।
