माग पूरा गर्ने सहमति भएपछि पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनसन
योगेन्द्र योगी
विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन्। जनताको जित भएको जनताको जित भएको र आफूले उठाएको माग सम्बोधन हुने सहमति भएपछि अनसन तोडेको बताएका छन्।
पूर्वमुख्यमन्त्री कार्कीले मंगलबारदेखि सुरू गरेको आमरण अनसन प्रति काेशी प्रदेश सरकारले बाध्य भएर सहमति गरेपछि बुधबार राति ४२ दिनका दुधे वालकको हातबाट जुस पिएर ९:२० बजे अनसन तोडेका हुन्। उनले उठाएका माग पूरा गर्ने विषयमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीबीच सहमति भएको थियो ।
आफ्नो सरकारले ल्याएका जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै देवकोटा चोकमा आमरण अनसन सुरु गरेका थिए। उनले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने। बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने। शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने।
महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने। घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने। सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने। कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने। डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने लगायतका माग अघि सारेका थिए।