३१ औं विश्व आदिवासी दिवस सुन्दरहरैंचामा भव्य रूपमा सम्पन्न

एलएन गच्छदार

सुन्दरहरैंचा (मोरङ) — आदिवासी जनजाति महासंघ सुन्दरहरैंचा नगर समन्वय समितिको आयोजनामा शनिबार ३१औं विश्व आदिवासी दिवस सुन्दरहरैंचामा विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष सुमन याख्खाले गर्नुभयो भने प्रमुख अतिथि नगर प्रमुख केदार प्रसाद गुरागाईंले उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख गुरागाईंले प्राप्त अधिकारको सदुपयोग गर्नुपर्ने र बाँकी रहेका अधिकार सुनिश्चित गर्न सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो। “उतालो वा उत्तेजित विषयमा नलागी नेतृत्व विकासमा ध्यान दिनुहोस्, स्थानीय तहको मेयर मात्र होइन प्रधानमन्त्री बन्ने लक्ष्यका साथ अघि बढनुस ,” उहाँले भन्नुभयो। पूर्व वक्ताको टिप्पणीको सन्दर्भ दिँदै उहाँले अनावश्यक टीका–टिप्पणी नगरी सहकार्यको मार्ग रोज्न आग्रह गर्नुभयो।

कार्यक्रममा आदिवासी जनजाति समुदायका कक्षा १२ अर्थात  प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरिएको थियो। साथै, सो कार्यक्रमलाई  विभिन्न समुदायका व्यक्तित्व र दलगत रूपमा आवद्ध आदिवासी जनजाति नेताहरूले सम्बोधन गरेका थिए।

नगर उपप्रमुख अकली चौधरीले आदिवासी समुदायको एकता र अधिकार संरक्षणमा जोड दिनुभयो।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभापति देबराज तामाङ्ले आदिवासी जनजातिलाई कमजोर बनाउन फरक–फरक जातीय संगठन खोलेर विभाजन गर्ने प्रयास भएको टिप्पणी गर्नुभयो।   उहाँले स्थानीय सरकारले आदिवासी जनजातिको सङ्ग्रहालय निर्माणका लागि बजेट विनियोजन गर्न नगरप्रमुखसंग अनुरोध गरिएको थियो।

वडा अध्यक्ष प्रकाश श्रेष्ठले “हामी मूल बासी आदिवासी हौं, पूर्खाहरूको योगदान कहिल्यै बिर्सनु हुँदैन” भन्दै दिवसको महत्व स्मरण गराउनुभयो।

सांस्कृतिक प्रस्तुतीको क्रममा राष्ट्रिय कलाकार इन्द्रकला राई सहित स्थानीय कलाकारहरूले समुदायको झाँकी, गायन तथा नृत्य प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *