लेखक तथा अनुसन्धानकर्ता विरहीलाई बेलबारी साहित्य सम्मान दिइने
मोरङ । लेखक तथा अनुसन्धानकर्ता केशु विरही बेलबारी साहित्य सम्मानबाट सम्मानित हुने भएका छन् । लेखन, पत्रकारिता तथा अनुसन्धानका माध्यमबाट नेपाली समाजलाई योगदान पुर्याउँदै आएका विरही नगद २५ हजारसहित बेलबारी साहित्य सम्मानबाट सम्मानित हुन लागेका हुन् ।
बेलबारी साहित्य विकास समितिका सचिव धनजीत पराजुलीले संस्थाको माघ २७ गते हुने छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनका दिन साहित्यकार विरहीलाई बेलबारी साहित्य सम्मान प्रदान गर्न लागिएको बताए । कथा, उपन्यास, बालसाहित्य तथा अनुसन्धानका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका कहालिलाग्दा गोरेटाहरू (उपन्यास) सहलेखन –२०५६, आमाको माया (उपन्यास) –२०५७, दन्किएको आगो (गजल सङ्ग्रह) –२०६३, सुस्केरा (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, भास्कर वंशावली (वंशावली) –२०६५, सुलोचना (कथासङ्ग्रह) –२०७१, रेस्माको स्यान्डल (बालकथासङ्ग्रह) –२०७७ आदि विधा साहित्यका कृति प्रकाशित भइसकेका छन् भने २०७९ मा अनुसन्धानात्मक कृति बेलबारीको साहित्यिक इतिहास प्रकाशित भएको छ ।
साथै सोही अवसरमा बेलबारी कला सम्मानबाट बेलबारीका कलाकार गणेश लामा ‘आसुँ’ सम्मानित हुने भएका छन् । लामा विगत लामो समयदेखि कलाका माध्यमबाट योगदान दिँदै आएका व्यक्ति हुन् ।
संस्थाले बेलबारीमा साहित्य र कलाका क्षेत्रमा विशेष योगदान दिने एक एक जनालाई स्रष्टा तथा कलाकारलाई सम्मानित गर्दै आएको छ । यसअघि बेलबारी साहित्य सम्मानबाट रमेश लामा, हर्कमान तामाङ र इरान राई सम्मानित भइसकेकका छन् भने बेलबारी कला सम्मानबाट श्याम गौतम, शिव छाङ्छा राई र मेघबहादुर कार्की सम्मानित भइसकेका छन् ।