सुरु भयो चट्याङ र हावाहुरीको मौसम

काठमाडाैं  । अब चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसम सुरु भएको छ। हिउँद याम (विन्टर) सकिएर मार्च १ (फागुन १७) देखि प्रि–मनसुन लागेको हो।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मार्चदेखि मे महिनासम्मको अवधिलाई मौसमका हिसाबले प्रि–मनसुन भनिन्छ। यो हिउँद याम सकिएर वर्षा याम सुरु हुनुअघिसम्मको अवधि हो। 

यस अवधिमा खासगरी दिउँसो दिउँसो गड्याङगुडुङ (चट्याङ) सहित क्षणिक वर्षा हुन्छ भने अन्य बेलाभन्दा हावाहुरी पनि अलि बढी आउने उनले बताए। ‘अरु बेला पनि चट्याङ, हावाहुरी नहुने त होइन तर प्रि–मनसुनको अवधिमा अलि बढी नै हुन्छ’, उनले भने। प्रि–मनसुन सकिएपछि अंग्रेजी महिना जुनमा मनसुन अर्थात् वर्षा याम सुरु हुन्छ। 

आज वर्षाको सम्भावना?

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

 यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।काठमाडौँ उपत्यकामा भने आज पानी पर्ने सम्भावना निकै कम भएको जानकारी माैसमविद् अधिकारीले दिए। 

महाशाखाको बुलेटिनअनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कोशी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *