सुन्दरहरैंचा नगरपालिकाद्वारा बजार अनुगमन, नापतौल सम्बन्धी समस्या

एलएन गच्छदार / फागुन १३

मोरङको सुन्दरहरैंचा नगरपालिका-७ स्थित गोठगाउँ बजारमा मंगलबार व्यापक बजार अनुगमन गरिएको छ। नगरपालिकाको नेतृत्वमा सम्पन्न अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायत सम्बन्धित निकायहरूको सहभागिता रहेको थियो।

बजारमा उपभोक्ताहरूबाट आएको गुनासोका आधारमा नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको जनाएको छ। अनुगमनका क्रममा बजारमा विभिन्न अनियमितता फेला परेको छ, जसमा प्रमुख रूपमा नापतौल सम्बन्धी समस्या गम्भीर रूपमा देखिएको छ।

नगर उपप्रमुख अकली चौधरीका अनुसार अधिकांश व्यापारीहरूले ढक, तराजु लगायतका नापतौल उपकरणहरू दर्ता तथा प्रमाणीकरण नगराएको पाइएको छ। त्यसैले, अनुगमन टोलीले ७ दिनभित्र यी उपकरणहरू अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ।

अनुगमनका क्रममा व्यापारीहरूले उपभोक्ताबाट बटइ उठाउँदा रसिद नदिएको गुनासो प्राप्त भएको छ। यस विषयमा नगर उपप्रमुख चौधरीले ठेकेदार र बजार व्यवस्थापन समितिसँग बसेर उचित समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभएको छ। नगर उपप्रमुख चौधरीका अनुसार कतिपय व्यापारीहरू दर्ता र नविकरण गर्नुपर्ने कानुनी व्यवस्था बारे अनविज्ञ रहेकोले सचेत गराइएको छ।

अनुगमन टोलीले बजारमा व्यवसायिक मर्यादा, उपभोक्ता अधिकार, मूल्य सूची टाँस गर्ने प्रथा, खाद्य वस्तुको सरसफाइ अवस्था जस्ता विषयहरूमा विशेष ध्यान दिएको छ। व्यवसायीहरूलाई उपभोक्ताहरूको हितलाई प्राथमिकता दिई व्यापार गर्न आग्रह गरिएको छ।

स्थानीय व्यापारीहरूले बजार अनुगमनलाई नियमित रूपमा गर्नुपर्ने माग राखेका छन्। उनीहरूले बजारमा हुने ठगी रोक्न अनुगमन मात्र नभई अनियमित व्यापारीहरूमाथि कारबाही पनि आवश्यक रहेको बताएका छन्।
नेपाल गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका सहायक निरीक्षक प्रमोद यादवका अनुसार गोठगाउँ मंगलबारे हटियाका अधिकांश व्यापारीहरूले नापतौल उपकरणहरू दर्ता नगरेको पाइएको छ। तसर्थ, ७ दिन भित्र अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिइएको छ।
नगरपालिकाले आगामी दिनहरूमा बजार अनुगमनलाई अझ सशक्त बनाउँदै, अनियमित व्यापारिक क्रियाकलाप नियन्त्रण गर्न आवश्यक कानुनी कारबाही गरिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *