३१औं विश्व आदिवासी दिवस सुन्दरहरैंचामा : अधिकार, एकता र सांस्कृतिक गौरवको उत्सव

 

एलएन गच्छदार

सुन्दरहरैंचा (मोरङ) — विहानैदेखि सुन्दरहरैंचाको केन्द्रमा फरक किसिमको चहलपहल थियो। रंगीचंगी पोसाकमा सिँगारिएका विभिन्न आदिवासी जनजातिका प्रतिनिधिहरू, झाँकी र झण्डासहितको जुलुस, र परम्परागत वाद्य–यन्त्रको धुनले वातावरण उत्सवमय बनाएको थियो। यही उत्साहको बीचमा शनिबार आदिवासी जनजाति महासंघ सुन्दरहरैंचा नगर समन्वय समितिले आयोजना गरेको ३१औं विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष सुमन याख्खाले गरेका थिए भने प्रमुख अतिथि नगर प्रमुख केदार प्रसाद गुरागाईंले उद्घाटन गरे। उद्घाटन सत्रमा बोल्दै गुरागाईंले अधिकारको सदुपयोग र बाँकी अधिकार सुनिश्चित गर्न एकजुट भएर अघि बढ्न आग्रह गरे।

“उत्तेजित वा विभाजनकारी विषयमा नलागी नेतृत्व विकासमा ध्यान दिनुपर्छ। स्थानीय तहको मेयर मात्र होइन, प्रधानमन्त्री बन्ने लक्ष्यका साथ अघि बढौं,” उनले प्रेरणा भरिएका शब्दहरू सुनाए।

कार्यक्रममा आदिवासी जनजाति समुदायका कक्षा १२ प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। यो सम्मान समारोहले नयाँ पुस्तामा गर्व र जिम्मेवारीको भाव जागृत गराएको सहभागीहरूको भनाइ थियो।

नगर उपप्रमुख अकली चौधरीले आदिवासी जनजातिलाई कमजोर बनाउन विभिन्न जातीय संगठन खोलेर विभाजन गर्ने प्रयास भइरहेको बताइन्।

“हाम्रो शक्ति हाम्रो एकतामा छ। यसलाई कमजोर पार्ने कुनै पनि प्रयासलाई सफल हुन दिने छैनौं,” उनले जोड दिइन्।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का क्षेत्रीय सभापति देबराज तामाङ्ले पनि आदिवासी समुदायको एकता र अधिकारको पक्षमा आवाज उठाउँदै, सुन्दरहरैंचामा आदिवासी जनजातिको सङ्ग्रहालय निर्माणका लागि स्थानीय सरकारसँग बजेट विनियोजनको आग्रह गरिएको जानकारी दिए।

वडा ९ वडा अध्यक्ष प्रकाश श्रेष्ठले दिवसको ऐतिहासिक महत्व स्मरण गराउँदै भने, “हामी मूल बासी आदिवासी हौं, पूर्खाहरूको योगदान कहिल्यै बिर्सनु हुँदैन।”

सांस्कृतिक प्रस्तुतीको क्रममा राष्ट्रिय कलाकार इन्द्रकला राई सहित स्थानीय कलाकारहरूले झाँकी, लोकनृत्य र गीतमार्फत समुदायको परम्परा, पहिचान र गर्वलाई जीवन्त बनाए। उपस्थितहरूले ढोल, मादल र बाँसुरीको तालसँगै नाच्दै दिवसलाई साँच्चै सांस्कृतिक महोत्सवमा परिणत गरे।

विश्व आदिवासी दिवस केवल एक उत्सव मात्र होइन, यो आफ्नै पहिचान र अधिकारको पुनः पुष्टि गर्ने दिन पनि हो। सुन्दरहरैंचाको यस वर्षको समारोहले देखायो—एकता र सांस्कृतिक गौरवमा दृढ समुदाय कहिल्यै कमजोर हुँदैन, बरु अझ सबल बन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *