तेह्रथुममा अलैची खेतीको विस्तार, किसानको आम्दानीको मुख्य आधार बन्दै ‘कालो सुन’

तेह्रथुम । परम्परागत अन्नबाली खेतीबाट अपेक्षित आम्दानी हुन छाडेपछि तेह्रथुमका किसानहरू अलैची खेतीतर्फ आकर्षित हुन थालेका छन्। जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा धान, मकै र कोदो खेती हुने खेतबारी अहिले अलैचीका हरिया बगानमा रूपान्तरण हुँदै गएका छन्।

अनुकूल हावापानी, पर्याप्त वर्षा र ओसिलो वातावरणका कारण तेह्रथुमका छथर, आठराई, फेदाप, मेन्छ्यायेम, लालिगुराँस तथा म्याङ्लुङ आसपासका क्षेत्र अलैची उत्पादनका लागि उपयुक्त मानिन्छन्। पछिल्ला वर्षहरूमा खाली जमिन, पाखाबारी तथा वनछेउका क्षेत्रहरूमा समेत अलैची खेती विस्तार हुने क्रम तीव्र बनेको छ।

छथर गाउँपालिका–६ का किसान सन्तकुविर आँखेवाका अनुसार अन्नबाली खेतीबाट लागतसमेत उठाउन कठिन भएपछि उनले अलैची खेतीलाई प्राथमिकता दिएका हुन्। अलैची उत्पादनबाट प्राप्त आम्दानीले परिवारको खर्च धान्न, छोराछोरीको शिक्षा र दैनिक जीवन सहज बनाउन मद्दत पुगेको उनले बताए। जिल्लाका कतिपय किसानले केही रोपनीबाट सुरु गरेको खेती अहिले दर्जनौं रोपनीमा विस्तार गरिसकेका छन्।

‘कालो सुन’का रूपमा परिचित अलैची तेह्रथुमका धेरै गाउँमा प्रमुख नगदे बालीका रूपमा स्थापित हुँदै गएको छ। बजार पहुँच भएका किसानहरूले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् भने केहीले १० लाख रुपैयाँभन्दा बढी आम्दानीसमेत गर्दै आएका छन्।

यद्यपि, अलैची खेतीसँगै केही चुनौती पनि छन्। चिर्के–फुर्के रोग, कीराको प्रकोप, जलवायु परिवर्तनका असर, श्रम अभाव तथा बजार मूल्यमा हुने उतारचढावले किसानलाई प्रभावित बनाइरहेको छ। विशेषगरी अन्तर्राष्ट्रिय बजारमा निर्भर मूल्य प्रणालीका कारण उत्पादन राम्रो भए पनि अपेक्षित आम्दानी नहुन सक्ने अवस्था रहने गरेको किसानहरूको भनाइ छ।

किसानहरूले रोग नियन्त्रण, प्राविधिक सेवा, गुणस्तरीय बिरुवा, सिंचाइ सुविधा र बजार व्यवस्थापनमा सरकारी सहयोग बढे अलैची खेतीले ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। तेह्रथुमका पहाड र पाखाहरूमा फैलँदै गएको अलैची खेती अहिले किसानका लागि आर्थिक समृद्धिको नयाँ आधार बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *