रास्वपाको जिल्ला अधिवेशन आजदेखि, महाधिवेशनको तयारी तीव्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण अभियानअन्तर्गत आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले अधिकांश जिल्लामा तदर्थ समिति गठन गरिसकेको र निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाइएको जनाएको छ।
रास्वपाले ७७ वटै जिल्लामा तदर्थ समिति गठन गर्ने लक्ष्य पूरा गरेको छ। पछिल्लो पटक डोल्पामा तदर्थ समिति गठन भएसँगै जिल्ला अधिवेशनको बाटो खुलेको हो। यद्यपि, गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने वडा तथा पालिका अधिवेशन सम्पन्न नभएकाले यसपटक जिल्ला अधिवेशन नहुने जनाइएको छ।
पार्टीको निर्णयअनुसार कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भएका जिल्लामा जिल्ला अधिवेशन गर्न सकिने व्यवस्था गरिएको छ। सोही आधारमा आज र भोलि देशभर जिल्ला अधिवेशन सञ्चालन हुनेछन्।
जिल्ला अधिवेशनपछि जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन आयोजना गरिने कार्यतालिका तय गरिएको छ। त्यसपछि असार ७ देखि ९ गतेसम्म चितवनमा पार्टीको प्रथम महाधिवेशन सम्पन्न गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ।
पार्टी नेतृत्वले जिल्ला तथा प्रदेश अधिवेशनलाई महाधिवेशनको आधार तयार गर्ने महत्वपूर्ण चरणका रूपमा लिएको छ। अधिवेशनमार्फत संगठनलाई थप व्यवस्थित र लोकतान्त्रिक बनाउने लक्ष्य राखिएको बताइएको छ।
