सडन डेथमा धनकुटालाई हराउँदै बेलबारी फुटबल क्लब बन्यो भीमनारायण स्मृति गोल्डकप च्याम्पियन
धनकुटा । मोरङको बेलबारी फुटबल क्लबले १८औँ सहिद भीमनारायण स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार धनकुटाको तल्लो टुँडिखेलमा सम्पन्न रोमाञ्चक फाइनलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान फुटबल क्लबलाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै बेलबारीले उपाधिमाथि कब्जा जमाएको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। ट्राइब्रेकरमा पनि दुवै टोली बराबरीमा रोकिएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा बेलबारीले उत्कृष्ट संयमता प्रदर्शन गर्दै जित सुनिश्चित गरेको हो।
बेलबारीका मोटिभ, सोलोमन किङ, विशाल थिङ, श्याम मुरुर र शिशिर लेखीले ट्राइब्रेकरमा गोल गरेका थिए। आयोजक धनकुटाका प्रिसो, विवेक गुरुङ, फेमी र होलेमी टावले गोल गरे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। उपाधिसँगै बेलबारी फुटबल क्लबले नगद ६ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता बनेको आयोजक धनकुटाले ३ लाख रुपैयाँ नगद, ट्रफी र मेडलमा चित्त बुझाएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक टोलीका पदम भट्टराई घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बेलबारीका सलमान किङ सर्वाधिक गोलकर्ता बने भने उत्कृष्ट डिफेन्डरतर्फ महेन्द्र कार्की पुरस्कृत भए। दुवैले जनही ११ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताका अन्य उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ। फाइनल खेल हेर्न उल्लेख्य संख्यामा दर्शक उपस्थित भएका थिए, जसले धनकुटामा फुटबलप्रतिको बढ्दो आकर्षणलाई झल्काएको छ।
