उदयपुरमा डिजिटल सुरक्षा अभियान सुरु, किशोरी तथा महिलामाथिको अनलाइन हिंसा न्यूनीकरणमा जोड

उदयपुर । किशोरी तथा महिलामाथि बढ्दो अनलाइन हिंसा न्यूनीकरण गर्ने उद्देश्यसहित उदयपुरमा डिजिटल सुरक्षा अभियान शुभारम्भ गरिएको छ। सामुदायिक रेडियो उदयपुरको १८औँ वार्षिकोत्सव तथा राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर सुरु गरिएको अभियानले डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे जनचेतना फैलाउने लक्ष्य लिएको छ।

महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजना तथा जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले अभियानको औपचारिक शुभारम्भ गरिन्। उनले डिजिटल प्रविधिको पहुँच विस्तारसँगै साइबर अपराध र अनलाइन हिंसाका घटना बढ्दै गएको उल्लेख गर्दै डिजिटल साक्षरता र सुरक्षाबारे व्यापक जनचेतना आवश्यक रहेको बताइन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी उपरीक्षक राजन चापागाईँ तथा बेलका नगरपालिकाकी उपमेयर जिरा राईले डिजिटल माध्यमको जिम्मेवार र सुरक्षित प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले साइबर हिंसा, नक्कली सामाजिक सञ्जाल खाता, व्यक्तिगत गोपनीयता उल्लङ्घन तथा डिजिटल ठगीबाट बच्न सचेत रहन आग्रह गरे।

महिला सशक्तिकरण स्रोत केन्द्रकी कार्यकारी निर्देशक बन्दना दनुवारका अनुसार अभियान अन्तर्गत विद्यालय, समुदाय तथा सञ्चार माध्यममार्फत डिजिटल सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा डिजिटल सुरक्षा सम्बन्धी जनचेतनामूलक गीत तथा गीतिनाटकसमेत प्रस्तुत गरिएको थियो।

होटल हिमालयन बासबारीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी, अधिकारकर्मी, सुरक्षाकर्मी, किशोरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *