हिमालय इङ्लिस स्कुलमा ९औं वार्षिक उत्सव तथा विज्ञान प्रदर्शनी
एलएन गच्छदार
मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका-१० मा अवस्थित हिमालय इङ्लिस स्कुलको ९औं वार्षिक उत्सव तथा अभिभावक दिवस विज्ञान प्रदर्शनीसहित भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य आकर्षण विज्ञान प्रदर्शनी रहेको थियो, जसमा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक आविष्कार, मोडेल तथा प्रयोगहरू प्रस्तुत गरेका थिए। ऊर्जा संरक्षण, सौर्य ऊर्जा, वातावरणीय संरक्षण, रोबोटिक्स तथा अन्य नवीनतम प्रविधिसम्बन्धी प्रोजेक्टहरू विद्यार्थीहरूले प्रदर्शन गरे।
विद्यार्थीहरूको सिर्जनशीलता र परिश्रमलाई प्रशंसा गर्दै प्रमुख अतिथि नगर प्रवक्ता तथा नगर शिक्षा समिति संयोजक रोशन ढकाल, एनप्याब्सन नगर अध्यक्ष (बेलबारी) पर्वत राई, एनप्याबसन जिल्ला अध्यक्ष नारायण कार्की लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले प्रदर्शनी अवलोकन गरेका थिए। उक्त प्रदर्शनीले विद्यार्थीहरूमा वैज्ञानिक चिन्तनको विकास गर्नुका साथै नवीन आविष्कारप्रति अभिरुचि बढाउने उद्देश्य राखेको थियो। अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तिहरूले विद्यार्थीहरूको सिर्जनशीलता र परिश्रमको प्रशंसा गरे।
कार्यक्रममा उत्कृष्ट वैज्ञानिक परियोजना प्रस्तुत गर्ने, एन प्याब्सन जिल्लास्तरीय बिभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले विशेष सम्मान तथा पुरस्कार प्रदान गर्यो। साथै, विद्यालयका प्रिन्सिपल खनालले आगामी वर्षहरूमा विज्ञान शिक्षालाई अझ प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुलोचना खनालले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइमा अभिप्रेरित गर्ने बताए।