कोशीमा सांसदलाई बजेट सिलिङ तोकियो, प्रत्यक्षलाई ४ करोड र समानुपातिकलाई २ करोड
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट तयारीलाई तीव्रता दिँदै प्रदेशसभा सदस्यहरूका लागि योजना सिफारिसको बजेट सीमा निर्धारण गरेको छ। सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड रुपैयाँ र समानुपातिक सांसदलाई २ करोड रुपैयाँसम्मका योजना प्रस्ताव गर्न सक्ने व्यवस्था गरेको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार तोकिएको सिलिङअनुसार सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र तथा सरोकारका योजनाहरू सम्बन्धित मन्त्रालयमा बुझाउन थालेका छन्। यद्यपि, अधिकांश सांसदले प्रस्तावित सीमा अपर्याप्त भएको भन्दै बजेट सिलिङ बढाउन माग गरेका छन्।
यसअघि सञ्चालनमा रहेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बन्द भएपछि सांसदका योजनालाई बजेटमा प्राथमिकता दिँदै सिलिङ प्रणाली लागू गरिएको हो। गत आर्थिक वर्षमा प्रत्यक्ष सांसदलाई २ करोड ५० लाख र समानुपातिक सांसदलाई १ करोड ५० लाख रुपैयाँसम्मको सीमा दिइएको थियो।
यसैबीच, प्रदेश सरकारले आगामी बजेटमा आयोजना बैंक ९प्रोजेक्ट बैंक० मा सूचीकृत योजनामात्र समावेश गर्ने नीति लिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आयोजना बैंकमा दर्ता भई पहिचान नम्बर प्राप्त नगरेका योजना बजेटमा समावेश गरिने छैनन्।
हाल प्रदेशका मन्त्रालय तथा निकायहरूबाट ३३ हजारभन्दा बढी योजना आयोजना बैंकमा प्रस्ताव भइसकेका छन्। आगामी आर्थिक वर्षको बजेटमार्फत करिब ५ हजार योजना कार्यान्वयनमा लैजाने सरकारको तयारी रहेको जनाइएको छ।
