युवा कवि सिजन श्रेष्ठ ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ बाट सम्मानित
युवा कवि सिजन श्रेष्ठ ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ बाट सम्मानित
मोरङका युवा कवि सिजन श्रेष्ठलाई ‘गामबेंसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ प्रदान गरिएको छ। नेपाल कलेज अफ म्यानेजमेन्ट (NCM) डेको अवसरमा गुरुकुल एजुकेसन फाउण्डेसन र नेपाल कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा सोमबार ललितपुरमा आयोजित विशेष समारोहमा श्रेष्ठलाई नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडलसहित सम्मान गरिएको हो।

श्रेष्ठको कविता संग्रह ‘हावामा अल्झिएको स्वर’ लाई पुरस्कारका लागि छनोट गरिएको थियो। अन्य उत्कृष्ट कृतिहरूमा पल्लविवको ‘लाटी’, सुभासिसको ‘क’ र सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ समावेश थिए।
पुरस्कार ग्रहण गर्दै श्रेष्ठले उक्त सम्मानले आफ्नो कविता साधनाको मूल्याङ्कन भएको र आगामी दिनमा अझ बढी जिम्मेवारीका साथ साहित्य सिर्जना गर्न प्रेरणा मिलेको बताएका छन्।
स्व. क्षेत्रप्रताप अधिकारीको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार हरेक वर्ष नवीनतम काव्यकृति प्रकाशित गर्ने एक जना युवा स्रष्टालाई प्रदान गरिँदै आएको छ। पुरस्कार संयोजक अमनप्रताप अधिकारीका अनुसार यस वर्ष देशभर र विदेशबाट १० वटा उत्कृष्ट कविता संग्रह प्राप्त भएका थिए।
