कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनका हिसाबले महत्वपूर्ण छन् : मुख्यमन्त्री कार्की

 

सुन्दरहरैँचा — कोशी प्रदेश सरकारले तेह्रथुमको तीनजुरे–मिल्के क्षेत्रमा ‘पर्यटन वर्ष २०८२’ को औपचारिक उद्घाटन गरेको छ। गुराँसको राजधानीका रूपमा परिचित यस क्षेत्रमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन्।

मुख्यमन्त्री कार्कीका अनुसार पर्यटन वर्ष २०८२ घोषणा गर्नुको उद्देश्य प्रदेशबाट सन्देश प्रवाह गर्दै आधार वर्षको निर्माण गर्नु हो। उनले स्थानीय तहसँग सहकार्य गरेर प्रदेशलाई पर्यटनको नमुना प्रदेशको रूपमा अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे।

उनले सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको सकारात्मक व्यवहारले मात्र पर्यटन प्रवर्द्धन सम्भव हुने भन्दै धार्मिक, सांस्कृतिक विविधताको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए। नेपालको वैदेशिक ऋण र व्यापार घाटा कम गर्न पर्यटन प्रभावकारी माध्यम बन्न सक्ने उल्लेख गर्दै उनले ऊर्जा, जलविद्युत, जडीबुटीजस्ता क्षेत्रमा समेत जोड दिइने जानकारी दिए।

प्रदेशका माङ्सेबुङ, बाराह क्षेत्र र हलेसीजस्ता धार्मिक तथा साहसिक पर्यटन स्थलहरूको परिचय दिँदै उनले यस्ता स्थानको विकासमार्फत कोशीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने योजना सुनाए। साथै, संघीय सरकारले भारत र चीनबाट पर्यटक भित्र्याउने नीति निर्माणमा सक्रिय हुनुपर्नेमा पनि उनले जोड दिए।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई बन्द-हडतालमुक्त बनाउँदै संवादका माध्यमबाट समस्या समाधान गरिने उल्लेख गरे। उनले सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्र उत्साहित भएको र अझै केही कानुनहरू सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले पर्यटन पूर्वाधार, नीति तथा नियमको विकासमा सबै राजनीतिक दलको सहभागिता र चासो आवश्यक भएको धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *