फेमे खोलाको बेलिब्रिजमा १० टन भार सीमा, बढी तौलका सवारीलाई रोक
पाँचथर । पाँचथरको फिदिम–फालोट सडकखण्डअन्तर्गत फिदिम नगरपालिका–१ र ११ को सिमानामा रहेको फेमे खोलामा जडान गरिएको बेलिब्रिजमा १० टनसम्म मात्र भार भएका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ।
प्रदेश सरकार र पूर्वाधार विकास कार्यालय पाँचथरले गरेको प्राविधिक मूल्यांकनपछि पुलको भार वहन क्षमता १० टन निर्धारण गरिएको हो। यससँगै १० टनभन्दा बढी भार बोकेका ढुवानी तथा अन्य सवारी साधनलाई पुल प्रयोग गर्न रोक लगाइएको छ।
गत २०८१ असोज १२ गतेको बाढीले फेमे खोलाको पुरानो पुल बगाएपछि लामो समयसम्म डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। त्यसपछि संघीय सरकारले उपलब्ध गराएको ५० मिटर लामो बेलिब्रिज जडान गरी यातायात सेवा पुनः सञ्चालनमा ल्याइएको हो।
पूर्वाधार विकास कार्यालयका अनुसार बेलिब्रिज जडान कार्य गत वैशाखको पहिलो साता सम्पन्न भएको थियो। उक्त सडकमार्ग सदरमुकाम फिदिमलाई नागीन, याङनाम, सिदिन, प्राङ्वुङ हुँदै सीमावर्ती फालोट क्षेत्रसँग जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको छ।
कार्यालयले पुलको दीर्घकालीन सुरक्षा र संरचनात्मक मजबुतीका लागि निर्धारित भार सीमा कडाइका साथ पालना गर्न सवारी चालक तथा ढुवानी व्यवसायीलाई आग्रह गरेको छ। अधिक भार भएका सवारी साधन सञ्चालन गर्दा पुलमा क्षति पुग्न सक्ने भएकाले नियम उल्लङ्घन नगर्न चेतावनी समेत दिइएको छ।
