इनरुवाको ग्रीन सिटिमा ‘एक इट्टा अभियान’ : सामाजिक अभियन्ता नेत्र चौलागाईंले पाथिभरा मन्दिर निर्माण थालनी
एलएन गच्छदार / सुन्दरहरैंचा
सामाजिक अभियानमार्फत पहिचान बनाएका अभियन्ता नेत्र चौलागाईंले इनरुवाको ग्रीन सिटिमा ‘एक इट्टा अभियान’को सुरुवातसहित पाथिभरा मन्दिरको निर्माण कार्यमा आफैँ खटिएका छन्।
करीब २ कट्ठा क्षेत्रफलमा निर्माण हुन लागेको मन्दिरको कुल लागत १ करोड रुपैयाँ अनुमान गरिएको छ। आगामी २ वर्षभित्र मन्दिरको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताइएको छ।
“जनताको साथ, समाजको आस्था र समर्पणले यो मन्दिर बनाउने हाम्रो सपना हो,” चौलागाईंले बताए। ‘एक इट्टा अभियान’ मार्फत समाजका प्रत्येक व्यक्तिको सहभागीता सुनिश्चित गर्दै निर्माण कार्य अगाडि बढाइएको छ।
पाथिभरा मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई पर्यटकीय सम्भावना बोकेको स्थलको रूपमा पनि विकास हुने अपेक्षा गरिएको छ। चौलागाईंको नेतृत्वमा भएको यस अभियानले धार्मिक, सांस्कृतिक र सामाजिक चेतनालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
स्थानीयबासी तथा शुभेच्छुकहरूको सहभागितासहितको यो अभियानले सामाजिक एकता र समर्पणको सन्देश फैलाइरहेको छ।
