कर्णालीमा खसेको फोर्स गाडी खोज्न सोनार क्यामेरा र गोताखोर परिचालन
सुर्खेत । दैलेखको कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले अत्याधुनिक सोनार क्यामेरा, चुम्बकीय उपकरण (म्याग्नेट) र विशेष गोताखोर टोली परिचालन गरेको छ। दुई दिनसम्मको खोजीमा पनि गाडी र बेपत्ता यात्रु फेला नपरेपछि खोजी अभियानलाई थप प्रविधिमैत्री बनाइएको हो।
असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङगेतडास्थित कर्णाली राजमार्गबाट नदीमा खसेको थियो। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा खोजी थाले पनि सफलता हात नलागेपछि शनिबार विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेष गोताखोर टोली घटनास्थल पठाइएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा पाँच सदस्यीय गोताखोर टोली पानीमुनि गाडीको अवस्थिति पत्ता लगाउन सोनार क्यामेरा र चुम्बकीय उपकरणको प्रयोग गर्दै खोजीमा जुटेको छ। खोजी अभियानलाई प्रभावकारी बनाउन हेलिकोप्टर र ड्रोनमार्फत नदी र आसपासका दुर्गम क्षेत्रको समेत निगरानी भइरहेको उनले बताए।
यसैबीच सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी वाहिनी मुख्यालयको अर्को गोताखोर टोली पनि घटनास्थलमा परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी करिब १०० जना सुरक्षाकर्मी संयुक्त रूपमा उद्धार तथा खोजी अभियानमा खटिएका छन्।
दुर्घटनामा परी कालीकोटको पचालझरना गाउँपालिका–९ का ५४ वर्षीय जेखे तिरुवाको मृत्यु भएको पुष्टि भइसकेको प्रहरीले जनाएको छ। यस्तै, मेखे तिरुवा, रास्कोट नगरपालिका–२ की सिर्जना खड्का, चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी तथा दुर्घटनाग्रस्त फोर्स गाडी अझै बेपत्ता छन्।
प्रहरीका अनुसार कर्णाली नदीको तीव्र बहाव, लगातार बढिरहेको जलस्तर, धमिलो पानी र दुर्गम भौगोलिक अवस्थाले खोजी अभियानलाई निकै चुनौतीपूर्ण बनाएको छ। प्रतिकूल अवस्थाका बाबजुद बेपत्ता यात्रु र गाडीको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।
