सादा पोसाकको प्रहरी भन्दै लुटपाट गर्ने दुई जना लागूऔषधसहित पक्राउ

बिर्तामोड । सादा पोसाकका प्रहरी भएको झुटो परिचय दिँदै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने दुई जनालाई झापा प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ। लुटपाटपछि फरार भएका उनीहरूलाई प्रहरीले विशेष टोली परिचालन गरी खोजतलास गर्दा चोरी भएका सामान र खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका अनुसार आइतबार दिउँसो करिब १२ बजे मेचीनगर नगरपालिका–६ पिङ्की ठ्याकस्थित सडकमा इलामको माई नगरपालिका–१ सन्दुवा निवासी ३६ वर्षीय तीर्थ गिरीलाई दुई जना अपरिचित व्यक्तिले रोकेका थिए। आफूहरू सादा पोसाकमा खटिएका प्रहरी कर्मचारी भएको परिचय दिँदै उनीहरूले गिरीलाई धम्क्याएर साथमा रहेको मोबाइल फोन, ६०० रुपैयाँ नगद, नागरिकता, स्वास्थ्य बिमासम्बन्धी कागजपत्र तथा सुनको फुली लुटेर फरार भएका थिए।

घटनापछि पीडित गिरीले दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएपछि प्रहरीले विशेष टोली परिचालन गरी घटनामा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको थियो। अनुसन्धानका क्रममा प्राप्त हुलिया तथा सूचनाका आधारमा प्रहरीले मेचीनगर–६ भानुटोलस्थित ३३ वर्षीय प्रलाद कार्कीको डेरा कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा कार्कीको सुत्ने कोठाबाट लुकाएर राखिएको अवस्थामा खैरो हिरोइनजस्तो देखिने दुई पोका लसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिक बाहेक उक्त पदार्थको तौल एक ग्राम ९१० मिलिग्राम रहेको बताइएको छ। त्यही कोठाबाट पीडितको लुटिएको नागरिकता तथा भाँचिएको अवस्थामा सुनको फुलीजस्तो देखिने धातु समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रलाद कार्की र मेचीनगर–७ कञ्चनजङ्घा टोलका २२ वर्षीय विशाल बास्कोटालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध लुटपाट तथा लागूऔषध कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत डाँका सम्बन्धी कसुर तथा लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरेको छ। अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी दुवै आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले नागरिकलाई आफू प्रहरी भएको भन्दै परिचय दिने व्यक्तिको परिचयपत्र तथा आधिकारिकता सुनिश्चित गर्न आग्रह गर्दै यस्ता शंकास्पद गतिविधिबारे तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *