खेलमैदान जोगाउन त्रियुगाको निर्णय, १७ भूमिहीनको जग्गा वितरण प्रक्रिया रोकियो
उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिकाले सार्वजनिक प्रयोजनका लागि आवश्यक जग्गा संरक्षण गर्ने निर्णयसँगै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई वितरण गर्ने तयारीमा रहेको करिब सात बिघा ऐलानी जग्गाको निस्सा बदर प्रक्रिया अघि बढाएको छ।
नगरपालिकाको जेठ २९ गते बसेको ६२औँ कार्यपालिका बैठकले गाईघाटस्थित वडा नं. ९ गैरुनको सरस्वती टोल विकास क्षेत्र (इँटाभट्टा दक्षिण) मा रहेको जग्गा भविष्यमा खेलमैदान र विद्यालय निर्माणका लागि सुरक्षित राख्ने निर्णय गरेको हो। त्यसअनुसार नगरपालिकाको भूमि व्यवस्था शाखाले निस्सा बदर प्रक्रिया सुरु भएको सार्वजनिक सूचना जारी गरेको छ।
यो निर्णयसँगै उक्त जग्गा प्राप्त गर्ने प्रक्रियामा रहेका १७ जना भूमिहीन तथा अव्यवस्थित बसोबासी प्रभावित भएका छन्। उनीहरूले आवेदन, नापजाँच, कम्प्युटर प्रविष्टि लगायत सरकारी मापदण्डअनुसारका सबै प्रक्रिया पूरा गरी निस्सा समेत प्राप्त गरिसकेका थिए। तर अन्तिम चरणमा आएर निस्सा बदर गर्ने निर्णय भएपछि उनीहरू जग्गा पाउने वा नपाउने भन्ने अन्योलमा परेका छन्।
भूमि व्यवस्थापन शाखा प्रमुख इन्जिनियर रुपक तिम्लसीनाका अनुसार अघिल्लो कार्यकालमा जग्गा वितरण प्रक्रिया अघि बढाइएको भए पनि वर्तमान कार्यपालिकाले सार्वजनिक हितलाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरेको हो।
निर्णयप्रति प्रभावित लाभग्राही र स्थानीयवासीले भने असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइमा सार्वजनिक प्रयोजनका लागि आवश्यक जग्गा सुरुमै छुट्याउनुपर्नेमा सबै प्रक्रिया पूरा गरिसकेपछि निस्सा रद्द गरिनुले लाभग्राहीलाई मानसिक र प्रशासनिक रूपमा समस्या परेको छ।
नगर प्रमुख बसन्तकुमार बस्नेतले भने सार्वजनिक उपयोगका लागि आवश्यक स्थानमै जग्गा वितरण हुन लागेको देखिएपछि त्यसलाई सच्याउन निस्सा बदर गरिएको स्पष्ट पारे। उनले भविष्यमा उक्त स्थानमा खेलमैदान निर्माण गर्ने योजना रहेको जानकारी दिँदै प्रभावित भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई अन्य उपयुक्त स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइने बताए।
