विश्वकप २०२६: क्वाटरफाइनल समीकरण पूरा, युरोपको दबदबा कायम

काठमाडौं । उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण पूरा भएको छ। स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराएसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो। अब उपाधि होड थप रोमाञ्चक बनेको छ।

यसपटक क्वाटरफाइनलमा युरोपका ६ टोलीले स्थान बनाउँदै आफ्नो वर्चस्व कायम गरेका छन्। दक्षिण अमेरिका र अफ्रिकाबाट भने अर्जेन्टिना र मोरक्को मात्र अन्तिम आठमा पुगेका छन्। पाँच पटकको विश्वविजेता ब्राजिल, पोर्चुगल तथा तीनै आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाको यात्रा भने अन्तिम १६ मै टुङ्गिएको छ।

प्रिक्वाटरफाइनल चरणमा धेरै अप्रत्याशित नतिजा देखिए। नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले हराउँदै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनायो भने मोरक्कोले क्यानडालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो पटक अन्तिम आठमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्ने कीर्तिमान बनायो।

साविक उपविजेता फ्रान्सले पाराग्वेमाथि १–० को कठिन जित निकाल्दा स्पेनले छिमेकी पोर्चुगललाई इन्जुरी समयमा गरिएको गोलको मद्दतले १–० ले हरायो। इंग्ल्यान्डले १० खेलाडीमा सीमित भएर पनि मेक्सिकोलाई ३–२ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो भने बेल्जियमले घरेलु समर्थकबीच रहेको अमेरिकालाई ४–१ ले हराएर क्वाटरफाइनल यात्रा तय गर्‍यो।

साविक विजेता अर्जेन्टिनाले पनि कठिन परीक्षा पार गर्दै इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाएर ३–२ को रोमाञ्चक जित निकाल्यो। यता स्विट्जरल्यान्डले गोलरहित बराबरीपछि भएको पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो।

अब क्वाटरफाइनलमा फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। चारवटै खेललाई उपाधि दाबेदार र नयाँ इतिहास रच्न खोज्ने टोलीबीचको रोमाञ्चक भिडन्तका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *