सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ
सुनसरीको गढी गाउँपालिका–१ स्थित मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र तीन राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट प्रहरी सहायक निरीक्षक गणेश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले पैदल हिँडिरहेका दुई जनामाथि शंका लागेपछि शरीर तथा साथमा रहेको सामान जाँच गरेको थियो।
जाँचका क्रममा मोरङको विराटनगर महानगरपालिका–१७, रानी बस्तीका ५१ वर्षीय नुर महोमद खानको साथबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लोड गरिएको तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट नुर महोमदसँगै विराटनगर–८, अशोक चोकका ३२ वर्षीय इम्रान खानलाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहवीमा राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
