७२ वर्षपछि स्विट्जरल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा, कोलम्बियाको यात्रा पेनाल्टीमा टुङ्गियो

काठमाडौं । स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा ऐतिहासिक स्थान बनाएको छ। क्यानडाको बिसी प्लेस स्टेडियममा भएको अन्तिम प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्डले पेनाल्टीमा ४–३ को जित निकाल्दै ७२ वर्षपछि अन्तिम आठमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। तनावपूर्ण पेनाल्टीमा कोलम्बियाका दुई खेलाडीले अवसर खेर फालेपछि स्विट्जरल्यान्डले ऐतिहासिक सफलता हात पारेको हो।

कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले पेनाल्टीमा गोल गरे भने डेभिन्सन सान्चेज र कुचो हर्नान्डेज गोल गर्न असफल रहे। यता स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गर्दा म्यानुअल अकांजीको प्रहार भने गोलमा परिणत हुन सकेन।

सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्डले १३औँ विश्वकप सहभागितामा चौथोपटक अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यसअघि टोली पटक–पटक समूह चरण वा अन्तिम १६ बाट बाहिरिँदै आएको थियो।

अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनाको चुनौती सामना गर्नेछ। पराजित कोलम्बियाको भने दोस्रोपटक विश्वकपको क्वार्टरफाइनल पुग्ने सपना अधुरै रहँदै प्रतियोगिताबाट यात्रा समाप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *