मनसुन सक्रिय: आज देशका धेरै क्षेत्रमा वर्षा, केही स्थानमा भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना
काठमाडौं । देशभर मनसुन सक्रिय रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव देशभर कायम छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भूभागमा सरदर स्थानकै आसपास रहेकाले वर्षा प्रणाली सक्रिय बनेको हो।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेश प्रदेशका विभिन्न स्थान तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
देशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हुरीबतास चल्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
आज राति पनि मौसम पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका पहाडी र तराई क्षेत्रका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। यस अवधिमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने चेतावनी महाशाखाले दिएको छ।
महाशाखाका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी वर्षा र १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी वर्षा मानिन्छ। सम्भावित भारी वर्षाले नदी, खोला तथा पहाडी क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले नागरिकलाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।
