त्रिविमा बेतलबी बिदा जोडेर पेन्सन: १२६ प्राध्यापकले अझै पाइरहेका छन् सुविधा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा १२६ जना प्राध्यापकले बेतलबी (असाधारण) बिदाको अवधि सेवा अवधिमा जोडेर अहिले पनि पेन्सन बुझिरहेको तथ्य सार्वजनिक भएको छ। विश्वविद्यालयले नयाँ निर्णयमार्फत यस्तो अभ्यास रोकेको भए पनि पहिले नै पेन्सन पट्टा बनाएका कर्मचारी र प्राध्यापकले भने पुरानै व्यवस्थाअनुसार सुविधा लिइरहेका छन्।
त्रिविको शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियम, २०५० अनुसार असाधारण (बेतलबी) बिदामा बस्दा तलब–भत्ता पाइँदैन र उक्त अवधि सेवा अवधिमा पनि गणना हुँदैन। तर २०६८ वैशाख ८ गतेअघि बेतलबी बिदा लिएका शिक्षक–कर्मचारीको हकमा सेवा अवधि जोडेर पेन्सन दिने निर्णयका आधारमा धेरैले अहिले पनि निवृत्तिभरण लिइरहेका छन्।
अनियमितताबारे प्रश्न उठेपछि त्रिविको कार्यकारी परिषद्ले २०८२ असारमा बेतलबी बिदालाई अबदेखि सेवा अवधिमा गणना नगर्ने निर्णय गरेको थियो। तर निर्णयअघि नै पेन्सन पट्टा बनाइसकेका व्यक्तिहरूको सुविधा भने यथावत् रहेको त्रिवि स्रोतले जनाएको छ।
यो व्यवस्थाको आधार २०७५ सालमा त्रिवि पुनरावेदन आयोगले दिएको एक फैसलालाई मानिन्छ। त्यसपछि २०७६ माघमा तत्कालीन कार्यकारी परिषद्ले २०६८ वैशाख ८ गतेअघिको बेतलबी बिदालाई सेवा अवधिमा गणना गर्ने निर्णय गरेको थियो। यही निर्णयका आधारमा कम्तीमा १२६ जना प्राध्यापकले पेन्सन सुविधा लिइरहेका छन् भने वास्तविक संख्या अझ बढी हुन सक्ने त्रिवि अधिकारीहरूको भनाइ छ।
यसक्रममा २० वर्ष सेवा अवधि पूरा नगरेका केही शिक्षक–कर्मचारीले समेत बेतलबी बिदा जोडेर पेन्सन लिएको पाइएको छ। नियमअनुसार २० वर्ष वा सोभन्दा बढी सेवा पूरा गरेपछि मात्रै पेन्सन पाउने व्यवस्था भए पनि सेवा अवधि नपुगेकाले समेत पेन्सन सुविधा लिएको विषय विवादको केन्द्रमा छ।
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले पनि त्रिविले नेपाल सरकारको स्वीकृतिबिना बेतलबी बिदा सेवा अवधिमा जोडेर पेन्सन वितरण गरेको उल्लेख गरेको छ। प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै पेन्सनतर्फ ३ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको देखिएको छ।
त्रिविका रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेका अनुसार बेतलबी बिदा जोडेर पेन्सन दिने व्यवस्था नीतिगत रूपमा उचित नभएकाले नयाँ नेतृत्वसँगै यस विषयमा कार्यकारी परिषद्ले थप निर्णय गर्ने तयारी भइरहेको छ। उनले विगतका त्रुटिपूर्ण निर्णय आवश्यक प्रक्रिया अपनाएर सच्याइने बताएका छन्।
