उदयपुरमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बुद्धचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। सोमबार मध्यराति जनप्रेमी विद्यालयबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको इँटाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१२ का २४ वर्षीय हेमन्त सदा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि उपचारकै क्रममा राति १२ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १८ वर्षीय राकेश सदा गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। हाल उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय त्रियुगाबाट खटिएको टोलीले उद्धार तथा आवश्यक व्यवस्थापनको काम गरेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
