बक्स अफिसमा ‘लालीबजार’को दबदबा, ८ करोड नजिक कमाइ गर्दै वर्षकै सर्वाधिक सफल नेपाली फिल्म
काठमाडौं । नेपाली चलचित्र उद्योगमा यस वर्ष प्रदर्शन भएका फिल्महरूमध्ये ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ। चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्स अफिस’ले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ १६ गतेसम्म उक्त चलचित्रले करिब ८ करोड रुपैयाँ कमाइ गर्दै घरेलु बक्स अफिसमा अग्रता कायम गरेको हो।
वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको अभिनेत्री स्वस्तिमा खड्का अभिनीत ‘लालीबजार’ले हालसम्म ७ करोड ९० लाख ३१ हजार ४७६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। सो अवधिमा चलचित्रका एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन्।
चलचित्रका अभिनेता रविन्द्रसिंह बानियाँले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित बनेको बताउँदै सामाजिक सन्देश र मनोरञ्जनको संयोजनलाई दर्शकले रुचाएको प्रतिक्रिया दिए।
यस वर्षको कमाइ सूचीमा दोस्रो स्थानमा रहेको ‘परालको आगो’ले ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ कमाएको छ। वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रका एक लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन्। लक्ष्मण सुनार निर्देशित फिल्ममा प्रकाश सपुत, सुहाना थापा र सौगात मल्लको मुख्य भूमिका रहेको छ।
यस्तै, जेठ ८ गतेदेखि प्रदर्शनमा आएको ‘मितज्यू’ले एक करोड २० लाख ५९ हजार ८२ रुपैयाँ कमाइ गर्दै राम्रो व्यापार गरेको देखिएको छ। सौगात मल्ल, दयाहाङ राई र टेरिया फौजा मगर अभिनीत चलचित्रका ४१ हजार २४८ टिकट बिक्री भएका छन्।
यसैबीच, रामकृष्ण ढकाल निर्मित ‘मालती मङ्गले’ले ५१ लाख ७३ हजार ७९३ रुपैयाँ कमाएको छ भने ‘काजी’ले ४० लाख ८८ हजार १७५ रुपैयाँ व्यापार गरेको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, ‘लाइफ ड्यामेज’ले ३३ लाख २६ हजार ३२० रुपैयाँ, ‘गुरु आमा’ले २९ लाख ४२ हजार ५७६ रुपैयाँ तथा ‘एक मुठ्ठी बादल’ले ५ लाख २१ हजार ८२५ रुपैयाँ कमाइ गरेका छन्।
चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने साप्ताहिक बक्स अफिस तथ्यांकअनुसार जेठ मध्यसम्मको अवधिमा ‘लालीबजार’ घरेलु बजारमा सबैभन्दा बढी दर्शक र कमाइ दुवै हासिल गर्ने नेपाली चलचित्र बनेको छ। बोर्डले हरेक सोमबार नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गर्दै आएको छ।
