डाँगीहाट फुटबल क्लबद्वारा ‘भाउन्ने लाइभ इन कन्सर्ट’को आयोजना, राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने

 

सुन्दरहरैंचा , मोरङ चैत्र ३० , २०८१
स्थानीय खेलकुद विकासमा निरन्तर क्रियाशील डाँगीहाट फुटबल क्लबले यहि चैत्र २१ गते आइतबार बेलबारी–१० स्थित प्रस्तावित डाँगीहाट रानामा ‘भाउन्ने लाइभ इन कन्सर्ट २०८२’ नामक भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत क्लबका अध्यक्ष छत्र लिम्बुले कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
२०६६ सालमा स्थापित क्लबले विगतमा तीनवटा गोल्डकप प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने देशका १६ वटा जिल्लामा आयोजित विभिन्न प्रतियोगितामा समेत प्रथम स्थान हासिल गर्दै आफ्नो उपस्थिति मजबुत बनाएको छ। क्लबले मोरङ जिल्लामै पहिलोपटक राष्ट्रिय फुटबल टोली सहभागी गराएर फ्रेण्डली म्याच तथा राष्ट्रिय लिगको व्यवस्थापन समेत गरिसकेको छ।

खेलकुदसँगै पर्यटन प्रवर्द्धन र सांस्कृतिक गतिविधिहरूलाई सँगसँगै अघि बढाउने लक्ष्यसहित क्लबले आयोजना गर्न लागेको यस कार्यक्रममा गायक एकदेव लिम्बु, बबिना किराँती, मेचु धिमाल, कृष्णभक्त राई, लक्ष्मी पौडेल, मोडल दिकिला शेर्पा तथा स्थानीय ‘द्रब्य ब्याण्ड’ लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।

अनुमानित १६ लाख ५० हजार लागत अनुमान गरिएको कार्यक्रममा विभिन्न संघ–संस्था, कम्पनी तथा व्यक्तिहरूको सहयोग रहने क्लबले जनाएको छ।

क्लबका अनुसार, बेलबारी नगरपालिकाको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिन लागेको कार्यक्रममा सञ्चारकर्मी मित्रहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *