गोदावरी रिभरसाइड रिसोर्टको औपचारिक शुभारम्भ, पूर्वी नेपालमा पर्यटकीय क्षेत्रको नयाँ आयाम
गोदावरी रिभरसाइड रिसोर्टको औपचारिक शुभारम्भ, पूर्वी नेपालमा पर्यटकीय क्षेत्रको नयाँ आयाम

सुन्दरहरैचा, मोरङ
पूर्वी नेपालको पर्यटन विकासमा एक ऐतिहासिक कदम स्वरूप, गोदावरी रिभरसाइड रिसोर्टको औपचारिक शुभारम्भ भएको छ। सुन्दर हरैचा–४, मोरङमा अवस्थित यो रिसोर्ट प्राकृतिक सौन्दर्य र अत्याधुनिक सुविधा दुबैको अद्वितीय संयोजनका साथ निर्माण गरिएको हो।
१० बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा ४० करोडभन्दा बढी लगानी गरिएको छ, जसले यसलाई कोशी प्रदेशमै एक प्रमुख पर्यटकीय गन्तव्य बनाएको छ।
संचालक रमेश खड्का अनुसार रिसोर्टमा नेपाली तथा अन्तर्राष्ट्रिय स्वादको परिकार उपलब्ध हुने रेस्टुरेन्ट, परिवार तथा समूहका लागि उपयुक्त आरामदायी लज, बच्चाहरूको लागि सुरक्षित बालउद्यान, हरियाली बगैंचासहितको उद्यान, प्रदेशकै उत्कृष्ट दृश्य प्रदान गर्ने बोटिङ सुविधा, साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न मिल्ने अत्याधुनिक सेमिनार हल जस्ता प्रमुख सुविधाहरू छन्।
सेमिनार हलमा प्रोजेक्टर, उच्चगुणस्तरीय साउन्ड सिस्टम, र वायरलेस इन्टरनेटको सुविधा उपलब्ध रहेको छ, जसले विभिन्न क्षेत्रका विज्ञहरूलाई अनुसन्धान तथा छलफल गर्न सहज बनाउनेछ।
गोदावरी रिभरसाइड रिसोर्टले २०८२ सालको नेपाल पर्यटन वर्षलाई लक्षित गर्दै क्षेत्रीय पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। विशेषगरी बालमैत्री वातावरण र प्राकृतिक अनुभवलाई प्राथमिकतामा राख्दै रिसोर्टले सबै उमेरका आगन्तुकलाई जीवनभर सम्झनलायक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
रिसोर्ट संचालक खड्काले भने, “हामी शान्त वातावरणमा विश्राम, मनोरञ्जन, र प्रकृतिसँग नजिकको सम्बन्ध अनुभव गराउने उद्देश्यले यो रिसोर्ट सञ्चालनमा ल्याएका हौं।”
