सरकारी बिमा रोकिए पनि बी एण्ड सीको आफ्नै बिमा सेवा निरन्तर, हजारौं बिरामीलाई राहत
झापा । स्वास्थ्य बिमा बोर्डले आर्थिक अभावका कारण निजी अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य बिमा सेवा स्थगित गरेको अवस्थामा बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नै स्रोतबाट सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा सुविधा निरन्तर राख्ने जनाएको छ। अस्पतालले यो व्यवस्थाबाट मिर्गौला, मुटु, हेड एण्ड स्पाइनलगायत जटिल रोगका बिरामीले उपचारमा सहुलियत पाइरहेको जनाएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले विभिन्न उपचार शीर्षकमा एक लाख रुपैयाँसम्मको बिमा सुविधा अस्पतालमार्फत उपलब्ध गराइँदै आएको जानकारी दिए। उनका अनुसार सरकारी स्वास्थ्य बिमा कार्यक्रम स्थगित भए पनि अस्पतालले आफ्नै स्रोतबाट सेवा निरन्तर राखेकाले बिरामीको उपचारमा ठूलो असर पर्न दिएको छैन।
अस्पतालका अनुसार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भइरहेका बेला दैनिक करिब १ हजार ६ सय बिरामीले ओपीडी सेवा लिने गरेका थिए। सरकारी कार्यक्रम स्थगितपछि केही बिरामी चाप घटे पनि आफ्नै बिमा सुविधा तथा विशिष्टीकृत उपचार सेवाका कारण सेवा लिन आउने बिरामीको संख्या उल्लेख्य रूपमा कायम रहेको अस्पतालको दाबी छ।
पूर्वी नेपालमा विशिष्टीकृत स्वास्थ्य सेवाको केन्द्रका रूपमा स्थापित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलले हाल २२ वटा क्लिनिकल विभागमार्फत २४सै घण्टा सेवा प्रदान गर्दै आएको जनाएको छ। अस्पतालमा विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मी गरी ठूलो संख्यामा दक्ष जनशक्ति कार्यरत छन्।
अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा १६ हजार ५७० जनाले आकस्मिक सेवा लिएका छन् भने २० हजारभन्दा बढी बिरामी भर्ना भई उपचार गराएका छन्। यस अवधिमा चार लाख ५० हजारभन्दा बढी ओपीडी सेवा प्रदान गरिएको छ भने ६ हजार ४५० वटा शल्यक्रिया सम्पन्न भएका छन्।
मिर्गौला उपचारतर्फ ७८६ जना बिरामीले निःशुल्क डायलाइसिस सेवा प्राप्त गरेका छन्। त्यसैगरी २ हजार ३२० जनाले आईसीयू, एनआईसीयू र पीआईसीयूलगायत क्रिटिकल केयर सेवा लिएका छन्। मुटुरोग उपचारअन्तर्गत ५५२ वटा एन्जियोग्राफी तथा २०४ वटा एन्जियोप्लास्टी सफलतापूर्वक सम्पन्न गरिएको अस्पतालले जनाएको छ।
अस्पताल व्यवस्थापनले ‘सेवै सेवा एउटै छानामुनि’ भन्ने अवधारणाअनुसार ओपीडी, आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला, शल्यक्रिया, क्रिटिकल केयर, पुनःस्थापना तथा अन्य सहायक स्वास्थ्य सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ।
अस्पतालले आगामी दिनमा थप सुपर स्पेसियालिटी सेवा विस्तार, आधुनिक प्रविधिको प्रयोग र चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्दै पूर्वी नेपालका नागरिकलाई आफ्नै क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
