इटहरीमा ६औं ह्विलचेयर रन भव्य रूपमा सम्पन्न
इटहरी, २०८१ फागुन १७ – “उपयुक्त ह्विलचेयर, पहुँचयुक्त नेपाल, स्वतन्त्र गतिशीलता हाम्रो अधिकार” भन्ने नाराका साथ स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा ६औं इटहरी ह्विलचेयर रन-२०८१ भव्य रूपमा सम्पन्न भएको छ। ह्विलचेयर प्रयोगकर्ताहरूको स्वतन्त्र गतिशीलता, आत्मनिर्भरता, र पहुँचयुक्त पूर्वाधारको आवश्यकताबारे जनचेतना फैलाउने उद्देश्य सहित आयोजना गरिएको यस कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
धरान रोड, हलगडा, इटहरीमा सुरु भएको कार्यक्रममा इटहरी उपमहानगरपालिका, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, र प्रदेश खेलकुद विकास बोर्डको विशेष सहयोग रहेको थियो।
कार्यक्रममा ह्विलचेयर प्रयोगकर्ताहरू, सामाजिक अभियन्ताहरू, सरकारी अधिकारीहरू, तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रह्यो। ह्विलचेयर प्रयोगकर्ताहरूले दौडमा उत्साहपूर्वक भाग लिँदै समाजमा पहुँचयुक्त संरचना निर्माणको आवश्यकता र समान अवसरको महत्त्वबारे सन्देश प्रवाह गरे।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरीले पहुँचयुक्त पूर्वाधार निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन्। उनले भनिन्, “समावेशी समाज निर्माणका लागि ह्विलचेयर प्रयोगकर्ताहरूको स्वतन्त्र गतिशीलता सुनिश्चित गर्नुपर्नेछ। यसका लागि स्थानीय तहले आवश्यक नीति तथा पूर्वाधार विकासमा ध्यान दिन्छ।”
कार्यक्रमका क्रममा सामाजिक अभियन्ता नेत्र चौलागाईंले अपांगता भएका व्यक्तिहरूको सहज आवागमनका लागि समावेशी पूर्वाधार निर्माण र अवसर वृद्धि गर्नुपर्ने कुरामा जोड दिए। उनले यस्तो कार्यक्रमहरूले समाजमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।यसैगरी अपांगता भएका व्यक्तिहरूको सहज आवागमनका लागि सार्वजनिक स्थानहरू पहुँचयुक्त बनाउनुपर्ने आवश्यकता औंल्याए।
यस ह्विलचेयर रनले अपांगता भएका व्यक्तिहरूको हक, पहुँच, र आत्मनिर्भरता सुनिश्चित गर्न सबै पक्षको ध्यानाकर्षण गरेको आयोजकहरूले बताएका छन्। स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका प्रतिनिधिहरूका अनुसार, भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै समावेशी समाज निर्माणका लागि पहल गरिनेछ।
