इटहरी मदिरा व्यवसायी संघको ९औँ साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न, चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

इटहरी । इटहरी मदिरा व्यवसायी संघको ९औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले दिपनारायण चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

इटहरीस्थित लायन्स पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि १९ सदस्यीय कार्यसमिति चयन गर्दै संघलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा भोलानाथ लुइँटेल, पुष्कर चाँपागाईं र प्रेम खनाल चयन भएका छन्। सचिवमा रामजी थापा, सह–सचिवमा रमेश श्रेष्ठ तथा कोषाध्यक्षमा मधु ढकाल चयन भएका छन्। सदस्यहरूमा अनिस दाहाल, विजय साह, मोतीलाल चौधरी, प्रदीप साहलगायत विभिन्न क्षेत्रका व्यवसायीहरू समेटिएका छन्।

साधारणसभाको अवसरमा व्यवसायिक योगदान र निरन्तरताको कदर गर्दै दुई जना उत्कृष्ट व्यवसायीलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा बेलबारीका व्यवसायी विजय साह र झुम्का क्षेत्रका व्यवसायी महेशप्रसाद शाह रहेका छन्। यसले व्यवसायीहरूलाई थप उत्साह र प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा संघका कोषाध्यक्ष पुष्कर चाँपागाईंले आर्थिक वर्षको कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गर्दै संघको आर्थिक अवस्था तथा आय–व्यय विवरणबारे जानकारी गराएका थिए।

वक्ताहरूले मदिरा व्यवसायलाई मर्यादित, अनुशासित र कानुनी दायराभित्र सञ्चालन गर्न सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिएका थिए। निवर्तमान अध्यक्ष राजेन्द्रकुमार राईले संघले व्यवसायीहरूको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा नयाँ कार्यसमितिले व्यवसायीहरूको अधिकारका पक्षमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

भोलानाथ लुइँटेलको संयोजकत्वमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष राजेन्द्रकुमार राईको अध्यक्षता तथा मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम सेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष रतन कार्की, मदिरा व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष नवीन तामाङ, केन्द्रीय सचिव गोविन्द बराल तथा धरान, उदयपुर र मोरङका अध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *