तीन दशकमा इटहरी खानेपानीको फड्को: १,२०० धाराबाट २५ हजारभन्दा बढी उपभोक्तासम्म सेवा विस्तार

इटहरी / ‘सफा र स्वस्थ पानी सबैका लागि, सधैँका लागि’ भन्ने मूल नारासहित अघि बढेको इटहरी खानेपानी उपभोक्ता संस्थाले स्थापना भएको तीन दशक पूरा गर्दै नेपालकै सफल सामुदायिक खानेपानी संस्थामध्ये एकको पहिचान बनाएको छ। २०५२ सालमा करिब २ करोड रुपैयाँको लगानीबाट सुरु भएको संस्थाले अहिले २५ हजार ७ सयभन्दा बढी धारा सञ्चालन गर्दै ५४५ किलोमिटरभन्दा लामो पाइप सञ्जालमार्फत इटहरीका हजारौँ घरधुरीलाई सेवा दिइरहेको छ।

वि.सं. २०४२ मा सम्भाव्यता अध्ययनबाट सुरु भएको योजना २०४८ मा निर्माणमा गएको थियो भने २०५२ मा सम्पन्न भई सञ्चालनमा आएको थियो। त्यसबेला १ करोड ९८ लाख रुपैयाँको लागतमा बनेको आयोजनामा दुईवटा डिपवेल, एउटा ४५० घनमिटर क्षमताको ओभरहेड ट्याङ्की र २८.६ किलोमिटर पाइपलाइन मात्रै थियो। १ हजार २ सय धारा वितरण गर्ने लक्ष्य राखिएकोमा १ हजार ८ सय ५४ धारा जडान गर्न सफल भएको थियो। WhatsApp Image 2026-07-11 at 22.13.20 (2)

तीन दशकको यात्रामा संस्थाले पूर्वाधार, सेवा र संस्थागत विकासमा उल्लेखनीय फड्को मारेको छ। हाल संस्थाले २५ हजार ७ सय ३ वटा धारा सञ्चालन गरिरहेको छ, जसमा २५ हजार ३ सय १३ निजी, १ सय ३३ सामुदायिक र २ सय ५७ व्यावसायिक धारा छन्। सेवा क्षेत्र इटहरी उपमहानगरपालिकाका अधिकांश वडामा विस्तार भइसकेको छ।

संस्थाले साना सहरी खानेपानी आयोजना तथा पुनर्सबलीकरण कार्यक्रममार्फत ३१ करोड ८१ लाख रुपैयाँभन्दा बढी लगानी गरी तीन वटा ओभरहेड ट्याङ्की, २३ वटा डिपवेल, ६ वटा पानी प्रशोधन केन्द्र, ९ वटा ट्रान्सफर्मर, ९ वटा जेनेरेटर र ५४५.४९ किलोमिटर पाइपलाइनसहितको आधुनिक पूर्वाधार निर्माण गरेको छ।

२०८१ सालमा निर्वाचित अध्यक्ष यामकुमार सुब्बा नेतृत्वको कार्यसमितिले सेवा विस्तारलाई निरन्तरता दिँदै नयाँ डिपवेल, ट्रिटमेन्ट प्लान्ट, ट्रान्सफर्मर, जेनेरेटर र पाइपलाइन थप गर्ने काम अघि बढाएको जनाएको छ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत हालसम्म २ हजार ४ सय १ विपन्न परिवारलाई सहुलियत दरमा धारा जडान गरिसकेको छ। साथै, समयमै महसुल बुझाउने उपभोक्तालाई ३ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

कार्यालय प्रबन्धक हरिबहादुर कटवालका अनुसार घरमा जडान गरिएको मिटरको पाइपमा सिधै मोटर जोडेर पानी तान्न पूर्ण प्रतिबन्ध लगाइएको छ, किनकि त्यसले वरपरका अन्य उपभोक्तामा पानीको आपूर्ति प्रभावित पार्छ। यद्यपि रिभर्ज ट्याङ्कीमा पानी संकलन गरेर त्यसपछि मोटरमार्फत माथिल्लो तल्लामा लैजान भने कुनै रोक छैन।

संस्थाले आगामी पाँच वर्षभित्र ५० हजार घरधुरीलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल गुणस्तर मापदण्डअनुसार २४सै घण्टा स्वच्छ खानेपानी उपलब्ध गराउने महत्वाकांक्षी लक्ष्य लिएको छ। महासचिव शालिकराम ढकालका अनुसार पानी सुरक्षा, स्रोत व्यवस्थापन, सहलगानी विस्तार र विपन्नमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सबै नागरिकसम्म सुरक्षित खानेपानी पुर्‍याउने रणनीतिअनुसार संस्था अघि बढिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *