करोडौँ खर्चेर बनेको कनकाईको विद्युतीय शवदाह गृह सञ्चालनमै ठप्प
झापा — झापाको कनकाई नगरपालिका–४ स्थित धार्मिक तथा ऐतिहासिक कनकाई घाटमा करिब २ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनमा आएको केही समयमै प्राविधिक समस्याका कारण बन्द भएको छ। वातावरणमैत्री र आधुनिक शवदाह सेवाको उद्देश्यले निर्माण गरिएको संरचना अहिले प्रयोगविहीन बनेपछि स्थानीयवासीले सार्वजनिक लगानीको सदुपयोग हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
कनकाई धाम धार्मिक विकास संस्था (कोटीहोम)का अध्यक्ष शेरबहादुर थापाका अनुसार कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा निर्माण गरिएको शवदाह गृह परीक्षण सफल भए पनि उपकरणमा समस्या देखिएपछि नियमित सेवा सञ्चालन हुन सकेन।
शवदाह गृह निर्माणका लागि कोशी प्रदेश सरकारले २ करोड रुपैयाँ, कनकाई नगरपालिकाले २० लाख रुपैयाँ र विभिन्न दाताले १० लाख रुपैयाँ सहयोग गरेका थिए। कन्काई नदीको पूर्वी तटमा निर्माण गरिएको उक्त संरचनाले आधुनिक तथा वातावरणमैत्री शवदाह सेवाको अपेक्षा जगाएको थियो।
गत वर्ष साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका–पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव पहिलोपटक विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिएको थियो। परीक्षण सफल भएपछि नियमित सञ्चालनको तयारी गरिए पनि त्यसलगत्तै मेसिनमा प्राविधिक समस्या देखिएपछि सेवा बन्द भएको अध्यक्ष थापाले बताए।
उनका अनुसार विद्युतीय शवदाह गृहबाट एउटा शव दहन गर्न करिब ५० मिनेट लाग्नेछ, जबकि परम्परागत चितामा दाउरा प्रयोग गरेर शवदाह गर्न तीनदेखि साढे तीन घण्टासम्म समय लाग्छ। यसबाट समय, श्रम र दाउराको बचत हुनुका साथै वन संरक्षण र प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको थियो।
हाल कनकाई घाटमा रहेका पाँचवटा परम्परागत चितास्थलमै सबै शव दाहसंस्कार भइरहेको छ। विद्युतीय शवदाह गृह सञ्चालनमा नआउँदा करोडौँको पूर्वाधार उपयोगविहीन बनेको भन्दै स्थानीयवासीले तत्काल मर्मत गरी सेवा सञ्चालनमा ल्याउन माग गरेका छन्।
कनकाई धाम धार्मिक विकास संस्थाले पनि प्रदेश सरकार तथा सम्बन्धित निकायसँग पटक–पटक मर्मत र नियमित सञ्चालनका लागि पहल गर्दै आएको जनाएको छ। अध्यक्ष थापाले आवश्यक प्राविधिक समस्या समाधान गरी शवदाह गृह यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
