दलित समुदायको आयआर्जन बढाउन सुन्दरहरैंचाद्वारा ४० परिवारलाई व्यवसायिक मेसिन वितरण
एलएन गच्छदार
सुन्दरहरैंचा, मोरङ।
दलित समुदायलाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकाले ४० दलित परिवारलाई विभिन्न व्यवसायिक मेसिन तथा उपकरण वितरण गरेको छ।
सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोग तथा दलित उत्थान समन्वय समितिको आयोजनामा नगरभित्रका १२ वटै वडाका दलित समुदायका ४० परिवारलाई जुत्ता बनाउने मेसिन, सिलाई मेसिन, कटिङ मेसिन, वेल्डिङ उपकरणलगायत विभिन्न पेशा तथा व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री वितरण गरिएको हो।
वितरण गरिएका सामग्रीमा जुके मेसिन १ थान, सिलाई मेसिन, दमाहा १ थान, नरसिंहा २ थान, दलाम बनाउने मेसिन, हाते ग्राइन्डर १ थान, सुन बाट्ने मेसिन १ थान, आरन मेसिन २ थान, जुत्ता सिलाउने मेसिन ३ थान, जुवा मेसिन ५ थानसहित विभिन्न व्यवसायिक उपकरण रहेका छन्। आयोजकका अनुसार लाभग्राहीको पेशा र आवश्यकताअनुसार सामग्री उपलब्ध गराइएको हो।
सुन्दरहरैंचा–६ की वडा सदस्य तथा नगर कार्यपालिका सदस्य टुनाकुमारी विकले नगरपालिकाले दलित समुदायको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले व्यवसायिक सामग्री वितरण गरिएको बताइन्। सीप भएका नागरिकलाई आवश्यक उपकरण उपलब्ध गराउँदा उनीहरू आत्मनिर्भर बन्ने र आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरिन्।
मेसिन प्राप्त गरेपछि खुशी व्यक्त गर्दै लाभग्राही माया परियारले पुर्ख्यौली पेशालाई निरन्तरता दिन अब थप सहज भएको बताइन्। आधुनिक उपकरण प्राप्त भएपछि उत्पादन क्षमता र आम्दानी दुवै बढ्ने अपेक्षा रहेको उनको भनाइ छ।
अर्की लाभग्राही संगीता दर्जीले सिलाई मेसिनले आफूलाई उद्यमी बन्ने अवसर दिएको बताउँदै आफ्नै व्यवसाय विस्तार गरी आत्मनिर्भर बन्ने लक्ष्य रहेको सुनाइन्।
सुन्दरहरैंचा–९ की वडा सदस्य सारदा विकले नगरपालिकाले आवश्यक व्यवसायिक मेसिन उपलब्ध गराएर दलित समुदायको आयआर्जन वृद्धि र आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण प्रयास गरेको बताइन्। यस्ता कार्यक्रमले स्वरोजगार सिर्जना गर्दै समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने उनको धारणा छ।
पूर्व नगर कार्यपालिका सदस्य हर्क परियारले दलित समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता योजनालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए। नगरपालिकाले समुदायको सीप र श्रमलाई सम्मान गर्दै आर्थिक रूपमा सबल बनाउने दिशामा महत्वपूर्ण कदम चालेको उनको भनाइ थियो।
नगरपालिकाले वितरण गरेका व्यवसायिक मेसिनहरूले परम्परागत पेशालाई आधुनिक प्रविधिसँग जोड्दै दलित समुदायको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। स्थानीयले यस्ता कार्यक्रमले स्वरोजगार सिर्जना, उत्पादन वृद्धि तथा सम्मानजनक जीवनयापनका लागि नयाँ अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
