प्रेरणा बचत तथा ऋण सहकारीको १८औं वार्षिक साधारण सभा सम्पन्न, सदस्य तथा समुदायलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

एलएन गच्छदार / सुन्दरहरैंचा 

 सुन्दरहरैंचा  नगरपालिका –१० विराटचोक स्थित प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष गोपाल थापा तथा सञ्चालन सचिव कृष्णप्रसाद भट्टराईले गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी हुनुहुन्थ्यो।

सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, आय–व्यय विवरण, प्रगति रिपोर्ट र आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। सोही अवधिमा एक पटक संयुक्त बैठक सम्पन्न गरिएको जानकारी पनि प्रस्तुत गरिएको थियो।

अध्यक्ष गोपाल थापाको भनाई अनुसार, “हामीले विगत वर्षभरि सदस्यहरूको वित्तीय पहुँच मात्र होइन, स्थानीय समुदायका स्वास्थ्य, शिक्षा, कृषि तथा सामाजिक सेवामा पनि योगदान पुर्याएका छौं। संस्थाले एम्बुलेन्स सेवा, मल बिक्री–वितरण, सहकारी अवलोकन भ्रमण, तालिम तथा सेमिनार, सामाजिक सेवा, व्यवसायिक कारोबारमा सहुलियत, दुर्घटना र सुत्केरी भएका सदस्यलाई आवश्यक सहयोग जस्ता सेवाहरू निरन्तर प्रवाह गर्दै आइरहेको छ। आगामी वर्षमा यसलाई अझ विस्तार गर्दै पारदर्शी, सुरक्षित र सदस्यमुखी बनाउने हाम्रो लक्ष्य हो।”

प्रमुख अतिथि पूर्व राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सहकारीको भूमिका र महत्वको प्रशंसा गर्दै भन्नुभयो, “सहकारीले सदस्यको आर्थिक सुदृढीकरण मात्र होइन, समुदायमा सामाजिक उत्तरदायित्व र स्वावलम्बन विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। सहकारीले प्रदान गरेका स्वास्थ्य, आपतकालीन सेवा र तालिम–सेमिनारहरू समुदायमा विश्वासको आधार बनेका छन्। यसलाई अझ सशक्त बनाउन सदस्यहरू तथा पदाधिकारीहरूको सहभागिता आवश्यक छ।”

सभामा उत्कृष्ट सदस्य, इमानदार भुक्तानीकर्ता तथा सक्रिय पदाधिकारीलाई सम्मान गरिएको थियो। यस क्रममा संस्थाका व्यवस्थापक श्री एमणी अधिकारीलाई संस्थामा पुर्याएको योगदानको उच्च कदर गर्दै कदरपत्र र रु २१,००० नगदसहित सम्मान गरिएको थियो।

अर्कोतर्फ, ज्येष्ठ सेयर सदस्यतर्फ ७४ वर्षीया श्रीमती होमादेवी न्यौपाने र ७६ वर्षका श्री एमणी अधिकारी, अनिवार्य मासिक बचत तर्फ महिलातर्फ श्रीमती सिता अधिकारी र पुरुषतर्फ श्री खेमराज दाहाल, खुत्रुके बचत तर्फ श्रीमती नायिसा सापकोटा, बचत–जमानत कर्जा तर्फ श्रीमती रेनुकादेवी कोइराला, धितो–जमानत कर्जा तर्फ महिलातर्फ श्रीमती शान्ता काफ्ले र पुरुषतर्फ श्री कृष्णबहादुर कार्की र श्री राजकुमार शाह सम्मानित भएका थिए।

यसका साथै, विगतका विभिन्न कार्यकालमा संस्थाको विस्तार र स्थायित्वमा योगदान पुर्याउने निवर्तमान सञ्चालक सदस्यहरूलाई पनि सम्मानपूर्वक बिदाई गरिएको थियो।

अन्त्यमा अध्यक्ष थापाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सेयर सदस्य तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नुभयो। संस्थाले आगामी वर्षमा आफ्ना सेवाहरू अझ व्यापक बनाउँदै सदस्य तथा समुदायलाई पूर्ण सहयोग र वित्तीय सुरक्षा प्रदान गर्ने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *