होर्मुज जलडमरूमध्य बन्द गर्ने इरानको घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो

काठमाडौं /  विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ होर्मुज अनिश्चितकालका लागि बन्द गर्ने घोषणा इरानले गरेपछि मध्यपूर्वमा तनाव थप बढेको छ। व्यापारिक जहाजमाथिको आक्रमणलाई लिएर अमेरिका र इरानबीच आरोप–प्रत्यारोपसँगै सैन्य गतिविधि तीव्र बनेका छन्।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आक्रमण गरेपछि अमेरिकाले यस साताको तेस्रो चरणको हवाई कारबाही गरेको हो। उक्त आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको, जहाज सञ्चालन गर्न नसकिने अवस्था आएको र चालकदलका एक सदस्य बेपत्ता भएको अमेरिकी दाबी छ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानले “गलत निर्णय गरेको” भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

यता इरानले भने स्वीकृत मार्ग छाडेर आफ्नो जलक्षेत्रमा प्रवेश गरेको जहाजलाई पटक–पटक चेतावनी दिँदा अटेर गरेपछि मिसाइल प्रहार गरिएको दाबी गरेको छ। आईआरजीसीले होर्मुज जलडमरूमध्य अर्को सूचना नआएसम्म बन्द रहने घोषणा गर्दै अमेरिकी सैन्य हस्तक्षेप भए क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि पनि आक्रमण हुन सक्ने चेतावनी दिएको छ।

यसअघि खाडी क्षेत्रमा व्यापारिक तेल ट्यांकरमाथि भएका आक्रमणपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको थियो। इरानी अधिकारीहरूका अनुसार ती आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएका थिए। त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।

तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम समाप्त भएको घोषणा गरे पनि कूटनीतिक संवाद जारी रहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले मध्यस्थकर्तामार्फत व्यापारिक जहाजमाथिको आक्रमण “गल्तीवश” भएको सन्देश अमेरिकासम्म पुर्‍याएको दाबी गरिएको छ, यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले पहिलो सार्वजनिक सम्बोधन गर्दै अमेरिका र इजरायलविरुद्ध कडा चेतावनी दिएका छन्। उनले युद्धमा मारिएकाहरूको “बदला लिइने” बताएका छन्। उता, अमेरिकी राष्ट्रपति ट्रम्पले आफूविरुद्ध कुनै पनि आक्रमणको प्रयास भए इरानमाथि “पूर्ण विनाशकारी जवाफ” दिइने चेतावनी दोहोर्‍याएका छन्।

यस घटनाक्रमसँगै विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय समुद्री व्यापारमा समेत असर पर्ने चिन्ता बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *