सुनकोशी गाउँपालिकाको ८४ प्रतिशत बजेट खर्च, आम्दानी लक्ष्यको ९४ प्रतिशत पूरा
ओखलढुंगा / ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गर्दै कुल विनियोजित बजेटको ८४.२५ प्रतिशत खर्च गरेको जनाएको छ। सार्वजनिक विवरणअनुसार गाउँपालिकाले अनुमानित ५४ करोड ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा ५१ करोड ८६ लाख ४१ हजार रुपैयाँ आम्दानी संकलन गरेको छ, जुन लक्ष्यको ९४.६४ प्रतिशत हो।
गाउँपालिकाका अनुसार कुल विनियोजित बजेटमध्ये ४६ करोड १७ लाख १३ हजार ५ सय ९५ रुपैयाँ ५६ पैसा विभिन्न विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक कार्यमा खर्च गरिएको छ। खर्चतर्फ चालु खर्च ८८.८३ प्रतिशत पुगेको छ भने विकास निर्माण तथा पूर्वाधारसँग सम्बन्धित पुँजीगत खर्च ७५.९५ प्रतिशत रहेको छ। पुँजीगत खर्च चालु खर्चको तुलनामा कम भए पनि समग्र बजेट कार्यान्वयन सन्तोषजनक रहेको गाउँपालिकाको दाबी छ।
आम्दानीको स्रोत हेर्दा संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फ ९७.९६ प्रतिशत रकम प्राप्त भएको छ भने समानीकरण अनुदानतर्फ ९१.४५ प्रतिशत रकम प्राप्त भएको गाउँपालिकाले जनाएको छ। त्यस्तै, संघीय सरकारबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदान शतप्रतिशत प्राप्त भएको विवरणमा उल्लेख छ। प्रदेश सरकारबाट प्राप्त समानीकरण, सशर्त तथा समपूरक अनुदान पनि पूर्ण रूपमा प्राप्त भएको जनाइएको छ।
यद्यपि स्थानीय स्रोतबाट राजस्व संकलन भने लक्ष्यअनुसार हुन सकेन। स्थानीय राजस्व बाँडफाँटतर्फ ८०.५५ प्रतिशत र आन्तरिक स्रोतबाट ६७.६२ प्रतिशत मात्र राजस्व संकलन भएको तथ्यांकले देखाएको छ। यसले गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन अझ प्रभावकारी योजना र कर प्रशासन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
गाउँपालिकाले सार्वजनिक गरेको आय–व्यय विवरणले स्थानीय तहको वित्तीय पारदर्शिता, बजेट कार्यान्वयनको अवस्था तथा राजस्व व्यवस्थापनको वास्तविक चित्र प्रस्तुत गरेको जनाएको छ। साथै आगामी वर्षहरूमा विकास योजनाको प्रभावकारी कार्यान्वयन, पुँजीगत खर्च वृद्धि र आन्तरिक राजस्व सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिइएको गाउँपालिकाले उल्लेख गरेको छ।





