सिक्टा सिँचाइको पानीले बाँकेका किसान उत्साहित, समयमै धानको बीउ राख्न सहज

बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी उपलब्ध गराउन थालेपछि बाँकेका किसान उत्साहित बनेका छन्। किसानको मागअनुसार मर्मतसम्भारको अवधिबाहेक वर्षभरि नै नहरमा पानी छोडिँदा कृषि उत्पादनमा सकारात्मक प्रभाव देखिन थालेको हो।

राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले जिल्लाका विभिन्न क्षेत्रमा नियमित सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ। आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार किसानको आवश्यकतालाई ध्यानमा राख्दै वर्षभरि नहरमा पानी उपलब्ध गराइँदै आएको छ।

“मर्मतसम्भारको समयबाहेक किसानको मागअनुसार नियमित रूपमा पानी उपलब्ध गराउँदै आएका छौँ,” साहले भने, “यसले किसानलाई धान र गहुँखेती मात्र होइन, व्यावसायिक बेमौसमी तरकारी उत्पादनमा समेत सहयोग पुगेको छ।”

आयोजनाले बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ। हालसम्म करिब २४ हजार हेक्टर क्षेत्रफलमा नियमित सिँचाइ सुविधा विस्तार भइसकेको आयोजनाले जनाएको छ। विगतमा आकाशे पानीको भरमा खेती गर्न बाध्य किसान अहिले नियमित सिँचाइ सुविधाका कारण समयमै धानको बीउ राख्न सफल भएका छन्। राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किसानले यसको प्रत्यक्ष लाभ लिइरहेका छन्।

राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ पुगेका क्षेत्रमा किसानले धानको बीउ हुर्काइसकेको बताए। उनले विशेषगरी वडा नम्बर ६ र ७ अन्तर्गत फत्तेपुर क्षेत्रका किसानले समयमै धानको बीउ राखिसकेको उल्लेख गर्दै सिक्टा आयोजना किसानका लागि वरदान साबित भएको बताए।

सिँचाइ सुविधा पुगेका क्षेत्रमा खेतीपाती सहज बन्दै गए पनि बाँकी क्षेत्रमा किसानले वैकल्पिक उपाय अपनाइरहेका छन्। घरायसी प्रयोजनका लागि जडान गरिएका मोटर तथा कतिपय स्थानमा खानेपानीको धाराको पानी प्रयोग गरेर धानको ब्याड राख्ने काम भइरहेको छ।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार हालसम्म जिल्लामा करिब ४५ प्रतिशत किसानले धानको बीउ ब्याड राखिसकेका छन्। बाँकेमा वार्षिक रूपमा ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ। नियमित सिँचाइ सुविधाले खेतीपातीलाई सहज बनाउनुका साथै उत्पादन वृद्धि र किसानको आम्दानी बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *