पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। अवरुद्ध सडक खुलाएपछि अहिले उक्त खण्डमा दुईतर्फी सवारी आवागमन सुचारु भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति करिब ९ बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइनखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरोसँगै ढुङ्गा खसेपछि केही समय यातायात प्रभावित बनेको थियो। सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार सडकमा खसेको पहिरो र ढुङ्गा हटाउने कार्य सम्पन्न भएपछि दुवैतर्फबाट सवारी सञ्चालन सुरु गरिएको हो।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा परिचित छ। वर्षायाममा यहाँ बारम्बार पहिरो र ढुङ्गा खस्ने समस्या दोहोरिने भएकाले यात्रु तथा चालकले विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।
सरोकारवाला निकायले वर्षाका कारण थप पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरेका छन्।
