सुन्दरहरैंचामा खेलकुदको उत्सव : मेयर गोल्डकपले जगाउँदै नयाँ ऊर्जा
एलएन गच्छदार / सुन्दरहरैचा (मोरङ) :
खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, स्वास्थ्य, अनुशासन, नेतृत्व र सामाजिक एकताको आधार पनि हो। यही मान्यतालाई आत्मसात् गर्दै मोरङको सुन्दरहरैंचामा चौथो संस्करणको सुन्दरहरैंचा मेयर गोल्डकप २०८२ आयोजना हुने भएको छ। जेठ १६ गतेदेखि सुरु हुने प्रतियोगिताले नगरलाई केही दिन खेलमय बनाउने मात्र होइन, स्थानीय प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण अवसर समेत प्रदान गर्ने अपेक्षा गरिएको छ।
सुन्दरहरैंचा–१२ स्थित सुक्रबारे खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना हुँदैछ। प्रतियोगितामा कोशी प्रदेशका विभिन्न स्थानीय तहका आठ टोलीको सहभागिता रहनेछ। स्थानीय सरकारबीचको मैत्रीपूर्ण प्रतिस्पर्धासँगै खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पनि यसले प्रदान गर्नेछ।
खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वासका साथ सुन्दरहरैंचाले विगत केही वर्षदेखि विभिन्न खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै आएको छ। नगर खेलकुद विकास समितिका सदस्य सचिव खडग श्रेष्ठ का अनुसार प्रतियोगिताको कुल लागत करिब १७ लाख रुपैयाँ रहनेछ भने विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा बेलबारी, पथरीशनिश्चरे, केराबारी, शिवसताक्षी, सुन्दरहरैंचा, बेलका, लेटाङ र इटहरीका टोलीहरू सहभागी हुँदैछन्। यी टोलीहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने विश्वास गरिएको छ। स्थानीय तहका उत्कृष्ट खेलाडीहरू एउटै मैदानमा उत्रँदा खेलप्रेमी दर्शकले उच्चस्तरीय फुटबल हेर्न पाउनेछन्।
सुन्दरहरैंचा नगर प्रवक्ता तथा वडा नं. १२ का अध्यक्ष रोशनप्रसाद ढकाल ले सुन्दरहरैंचालाई खेलकुद हबका रूपमा विकास गर्ने सम्भावना रहेको बताए। उनका अनुसार नगरले यसअघि नै राष्ट्रिय तथा व्यावसायिक खेलाडी उत्पादन गरिसकेको छ। नगरभित्र नियमित रूपमा खेलकुद गतिविधि सञ्चालन भइरहेका कारण युवाहरूमा खेलप्रति आकर्षण बढ्दै गएको छ।
आजको समयमा युवालाई लागुऔषध दुर्व्यसन, बेरोजगारी र अन्य सामाजिक विकृतिबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ। यस्ता प्रतियोगिताले युवालाई सकारात्मक सोच, अनुशासन र लक्ष्यप्रति प्रतिबद्ध हुन प्रेरित गर्छन्। त्यसैले मेयर गोल्डकप केवल एउटा फुटबल प्रतियोगिता नभई स्वस्थ समाज निर्माणको अभियान पनि हो।
सुन्दरहरैंचाको खेल मैदानमा जेठ १६ देखि सुरु हुने यो खेल महोत्सवले स्थानीय खेलाडीलाई प्रोत्साहन, दर्शकलाई मनोरञ्जन र नगरलाई खेलकुदको नयाँ पहिचान दिने अपेक्षा गरिएको छ। चौथो संस्करणको यो प्रतियोगिता सुन्दरहरैंचाको खेलकुद इतिहासमा अर्को महत्वपूर्ण अध्याय बन्ने विश्वास आयोजकहरूको छ।






