मिस नेपाल २०२६’ मा ठूला परिवर्तन, इटहरीबाट सुरु हुँदै नयाँ संस्करणको अडिसन
इटहरी । नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ को ३१औँ संस्करण ‘मिस नेपाल २०२६’ नयाँ स्वरूप र महत्वपूर्ण परिवर्तनसहित सुरु भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले आधिकारिक रूपमा आवेदन खुला गर्दै कोशी प्रदेशको इटहरीबाट अडिसन यात्रा सुरु गर्न लागेको जनाएको छ ।
प्रतियोगिताबारे जानकारी दिन इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले यस वर्षको संस्करण अघिल्लाभन्दा फरक र अन्तर्राष्ट्रिय स्तरअनुसार तयार गरिएको जानकारी दिएका हुन् । इटहरी कोअर्डिनेटर स्मित कार्कीका अनुसार जेठ १५ गते बिहान ९ बजेदेखि १२ बजेसम्म सोही होटलमा अडिसन सञ्चालन हुनेछ । पूर्वी नेपालबाट ४० देखि ५० जना युवती सहभागी हुने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकार, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल, मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारी सहभागी थिए । कार्यक्रममा बोल्दै लुना लुइँटेलले यस्ता प्रतियोगितामा अभिभावकहरूले छोरीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताइन् ।
यस वर्षदेखि प्रतियोगितामा केही महत्वपूर्ण परिवर्तन गरिएको आयोजकले जनाएको छ । निर्देशक प्रमोद कंसाकारका अनुसार अब मिस वर्ल्डको अन्तर्राष्ट्रिय फर्म्याटअनुसार विभिन्न विधाहरू समावेश गरिनेछ । साथै, यसपटकदेखि ‘मिस नेपाल अर्थ’ उपाधि हटाइएको छ । अब प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेसनल गरी तीन मुख्य विजेता चयन गरिनेछन् ।
यस संस्करणका प्रतियोगीहरूका लागि भियतनामका चर्चित फेसन डिजाइनर ‘नामोद’ ले विशेष ड्रेस तथा गाउन डिजाइन गर्ने भएका छन् । त्यस्तै, ग्रान्ड फिनालेमा ‘मिस कोस्मो’ का अन्तर्राष्ट्रिय विजेता, आयोजक तथा रनरअपहरूको पनि विशेष उपस्थिति रहने आयोजकले जनाएको छ ।
‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले आगामी साउन २६ गते ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजना हुनेछ । कार्यक्रमको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनबाट गरिनेछ । प्रतियोगिताबाट छनोट हुने तीन विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।
