सुन्दरहरैंचामा प्याब्सन प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिता सुरु

एलएन गच्छदार /सुन्दरहरैंचा — सुन्दरहरैंचा नगरपालिका नगरकार्यसमिति प्याबसनको आयोजनामा प्याब्सन प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिता पौष ४ देखि ७ गतेसम्म सञ्चालन हुने छ। बालबालिकामा खेलकुदप्रति रुचि विकास गर्ने, अनुशासन र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

आजको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि प्याब्सन केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल ले गर्नु भएको थियो। उहाँले खेलको उद्घाटन गर्दै भने, “यस प्रकारका प्रतियोगिताले बालबालिकामा खेलकुदप्रति रुचि बढाउने, अनुशासन र नेतृत्व क्षमता विकास गर्ने अवसर प्रदान गर्छ। यसले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास छ।”

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दिपक क्षेत्रीले भने, “विद्यार्थीहरूलाई शैक्षिक गतिविधिसँगै खेलकुदमा पनि सक्रिय बनाउँदै समग्र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने हाम्रो लक्ष्य हो।” नगरकार्यसमितिका सचिव सूर्य दंगालले भने, “प्रतिभाशाली खेलाडीहरूलाई पहिचान गरी भविष्यमा प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना हुनेछ।”

आजको पहिलो दिनमा भएका खेलमा म्याच १ मा टेन्डरफिटले २–० गोलको अन्तरले दुलारी मल्टिपललाई पराजित गर्यो। म्याच २ मा पूर्वाञ्चल पब्लिक र नरसिंह मेमोरियलबीच २–२ को बराबरी भएको थियो भने सडेन डेथमा नरसिंह मेमोरियल विजयी भयो। म्याच ३ मा ज्युपिटरले २–० गोलले हरैचा मोडेललाई हरायो। म्याच ४ मा इन्द्रपुर नमुना र सफल सिद्धार्थबीच २–२ को बराबरी भए पनि सडेन डेथमा इन्द्रपुर नमुना विजयी रह्यो। म्याच ५ मा सिद्धार्थ सेकेण्डरीले २–० गोलको अन्तरले लाइटनिङ ग्लोबललाई पराजित गर्यो भने म्याच ६ मा सगरमाथा हिमाल दर्शन ०–५ गोलले सुबिजिमुरसँग पराजित भयो। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याच ट्रफी प्रदान गरिएको थियो।

प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिका भित्रका विभिन्न विद्यालयका अन्डर–१५ उमेर समूहका टोलीहरूले सहभागिता जनाएका छन्। आयोजकले प्रतियोगितालाई सौहार्दपूर्ण र अनुशासित वातावरणमा सञ्चालन गरिने जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *